सनु थापा मगर
बुटवल , फाल्गुण २६ – पहिचान विराधीहरुलाई कारबाही गर्नको लागि सोमबार बुटवलमा युवा दस्ता गठन गरिएको छ ।
दिपक गुरुङको संयोजकत्वमा २३ सदस्य रहेको युवा दस्ताको गठन गरेको हो । दस्ताका सदस्यहरुमा दलबहादुर थापा ,तेज राना , पदम तमु ,मिलन भुजेल , गोकुल छन्त्याल , शित्तल श्रेष्ठ लगायत रहेका छन् । अरु सदस्यहरु थप विस्तार गर्दै लैजाने बताईएको छ । उक्त कार्यक्रममा बोल्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका निर्देशक तथा पुर्व सभासद समेत रहेका पासाङ शेर्पाले पँहिचान विरोधीहरुलाई सभ्य र शिष्ट भाषाले सम्झाउँदा नभएर अब भाटाले सम्झाउनलाई दस्ता गठन गरेको बताए ।
उनले भने “ यो दस्ता किन गठन गरेको भनेर घुमाएर भनिरहनु जरुरी छैन । सिधा भाषामा जातीय अधिकारको विरोधमा निस्केका जनजाति भित्रकै जनजाति नेताहरु र पहिचान विरोधी समुहलाई सबक सिकाउनको लागि हो भनेर बुझे हुन्छ ।” उनले यतिबेला मुलुक पहिचान पक्ष र विपक्ष गरि दुईध्रुबमा प्रष्टरुपमा विभाजन भएको बताए । यहाँ जब आदिवासी जनजातिहरु ब्युँझिन थाल्छन् तब साम्प्रदायीकताको विल्ला लगाउने गरेको आरोप लगाए । अधिकारको कुरा गर्दा जातीय राज्य माग्यो भनेर भ्रम फैलाईएकाले यो भ्रम चिर्न पनि लठ्ठी , मुङग्रोको भाषा आवस्यक रहेकाले यसको काम युवा दस्ताले गर्ने बताए । युवा दस्ताले सामाजिक कारबाही देखी कालो मोसो दल्ने सम्मको सामाजिक कारबाही गर्ने र यतिले पनि नपुगेको अवस्थामा हतियार सम्म पनि उठाउन सक्ने चेतावनी दिए ।
उनले अहिलेको राज्य एकल जातीय रहेको अथ्र्याउँदै पहिचान विरोधीहरुको हालत पुरानो पञ्चहरुको जस्तो हुने दिन आएको जिकीर गरे । अहिलेको राज्यसत्तासंग आक्रोस पोख्दै उनले भने “ कित जनजातिहरु सबैलाई मार, होईन भने अधिकार देउ । ” उनले पहिचानको आन्दोलनमा सरिक हुन पनि सबै युवाहरुलाई आह्वान गरेका थिए । अबको आन्दोलन वार की पार हुने र नहुँदा सम्म विसर्जन नगरिने पनि ठोकुवा गरे । कार्यक्रममा अर्का नेता एवम पुर्व कानुन मन्त्रि देव गुरुङले अहिलेको समयमा पहिचान पक्षधरहरु एक भएर लाग्नु पर्ने औल्याए । देशका नेताहरु बाह्र बुँदे शान्ति सम्झैता र समझ्दारीबाट पछाडी हटीसकेकोले देश पश्चगमनतर्फ उन्मुख भएको उल्लेख गरे ।
विगतको सम्झौता र उपलब्धिले अधिकार स्थापित नहुने भएकोले पनि अब युवा दस्ताको आवश्यक्ता रहेको बताए । उनले भने “विचार र वर्गीय हिसाबले केही भिन्नता होला तर आदिवासी जनजाति पिडीत हुन की होईनन् सोँच्ने बेला आएको छ ।” बाहिरी शक्तिहरुले डिक्टेसन गरीरहेकोले पहिलो संविधान सभामा दुईतिहाई हुँदाहुँदै पनि संविधान बन्न नदिएको उल्लेख गर्दै ब्रम्हलुट मच्चाउन पाईरहेकाले देशमा संघीय प्रणाली लागु गरेर स्थानिय जनताको तहमा अधिकार दिन नचाहेको आरोप लगाए ।
कार्यक्रममा जनजाति युवा नेता जिएस तमु , तामाङ्ग घेदुङ रुपन्देहीका अध्यक्ष वीरबहादुर लामा , भुजेल सेवा समिति रुपन्देहीको तर्फबाट ज्ञानेन्द्र भुजेल ,छन्त्याल समाज रुपन्देहीका जिल्ला अध्यक्ष दलबहादुर छन्त्याल , नेपाल मगर संघका जिल्ला सदस्य एवम जनजाति आन्दोलन संयुक्त संघर्ष समितिका सह–प्रवक्ता कमल थापा मगर , सुनुवार सेवा समाजका नविन सुनुवार , जयबहादुर छन्त्याल , तमु राष्ट्रिय मुक्ति मोर्चाका अञ्चल ईन्चार्ज एवम जनजाति आन्दोलनका प्रवक्ता धनबहादुर गुरुङ्ग , आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष दिलबहादुर खाम्चा मगर लगायतले कार्यक्रममा बोल्दै जनजातिहरु आन्दोलनको लागि एकै ठाउमा उभिएर अगाडी बढ्नु पर्ने बताए ।
आदिवासी जनजाति युवा महासंघ रुपन्देहीका अध्यक्ष प्रेम सोमै मगरको अध्यक्षता तथा सञ्जिव थापा मगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
