माझी समुदायको महान चाड लदीपुजा(कोसीपुजा)आज ०७१ फागुन १९ गते तेश्रो मङ्गलवारको यो बिशेष लेख ।
धनबहादुर माझी
माझी जातिको महत्वपुर्ण चाड कोशीपूजा हो । माझी जाति प्रकृतिपुजक भएकोले नै प्रकृतिको महत्वपुर्ण अंग कोशीको अथवा पानीकोपूजा गरेका हुन् । यो चाड खास गरेर फागुन बैशाख, जेष्ठ, असार र माघ महिनामा मनाउँछन् । यो पूजामा सप्त कोशीका सहायक नदी इन्द्रावती, सुनकोशी, तामाकोशी, दुधकोशी, लिखु र तमर समेत सातवटा कोशीको नाम लिएर पूजा गर्दछन् । पृथिवीमा एकभाग जमीन तिनभाग पानी भएको कारणले यो पानीको पूजा गरिएकोहो । कोशी बाहेक विभिन्न देवी–देवता, कुल, पितृको पनि पूजा गर्दछन् । यसमा छोरीचेली, नाता, कुटुम्बहरूलाई पनि निम्ता गर्दछन् । यो पूजामा माझी बाहेक अन्य जातिलाई समावेस गराउदैनन् । विशेस चोखोनिधो र निष्ठापुर्वक शनिवार र मङ्गलबार पारेर सामुहिक पुजा गर्दछन् ।
पूर्व तयारीः
कोशीपूजा गर्ने समय आएपछि गाउँका मानिस भेला भएर कोशीपूजा गर्ने दिन निधो गर्छन् । पूजा गर्ने एक महिना पहिले देवताको नाममा प्रत्येक घरबाट एकमाना चामल र परिवारका भात खुवाइसकेका बच्चादेखि बुढापाका र परदेश गएका र कुनै निम्तारू छन् भने पाहुनाको समेत जाँडको लागि र अन्य पूजा सामग्रीका लागि आवश्यक नगद पनि उठाउदछन । चामल उठाउँदा प्रत्येक घरको सम्पुर्ण पुरूषहरू र महिला एकजनाको मात्र उठाउदछन । उठाएको चामल नुहाई धुवाई घर लिपपोत गरी चोखो मुखले देवताको नाममा जाँड पकाउदछन् । जाँडको लागि पकाएको भातमा मर्चा मोलेर गाग्रोमा नहालुन्जेलसम्म जाँड पकाउनेले पानी समेत पनि खानुहुँदैन । यो जाँड नमिठो भयो भने देवता रिसाएको मान्दछन् । यो पूजामा पकाएको जाँड नमिठो कहिल्यै हुँदैन ।
पूजाको पहिलो दिनः
पुजाको दिन विहान माझी बाहेक अन्य जातजातिले समेत पूजाको लागि अक्षता भेटी अन्य पूजा सामाग्रीहरू पूजारीको घरमा ल्याइदिन्छन् कसैले पठाइदिन्छन् । माझीहरुले विहान कुल पित्रीको पूजा, कोशी, विभिन्न देवीदेवतालाई निम,भाकल, विवाह भाग, छोरो जन्मेको हर्षको इत्यादि नामले बोका, पाठी, कुखुरा बलि चढाउँदछन् । गाउँघर परिवारमा रीसइवी र अन्यकारणले मनमुटाव भै बोलीचाली समेत बन्द भएकाहरू पनि एक आपसमा बोल्ने रीसिइबी नगर्ने भएकोले यो पूजालाई मेलमिलापको पर्वको रूपमा लिन्छन । पूजाको अघिल्लो दिन पुजारीले नुहाइ–धुवाई चोखोनिधो गरी घाम छँदै एक छाक खाएर चोखो निष्ठाका साथ बस्नुपर्छ ।
बेलुका धामीहरू चिन्ता बस्छन् र त्यहाँ बसेका बुढापाकाले भोली पुजा गर्दैछौं कुनै अनिष्ठ नहोस भनेर बल माग्छन् । आ–आफ्नो घरमा विहानको खाना खाएपछि माना चामल उठाएको संख्याको आधारमा प्रत्येक व्यक्ति एउटा कुखुरा र कुखुराको फुल एउटा भेटी अक्षतासहित विभिन्न पूजा सामाग्री पुजारीको घरमा जम्मा गर्दछन् । सबैले ल्याएको पुजा सामाग्री एकैठाउँमा जम्मा पारी पुजारी पुजास्थानमा जान्छन् । पुजारी पुजास्थानमा पुगेपछि गाउँमा माझी बाहेक अन्य जातजाति आएका छन् भने पूजा शुरूभएकोले सबैलाई गाउँछाडेर जाने सूचना बन्दुक पड्काएर गर्दछन् ।
सूचना पाउनासाथै आआफनो स्थानतिर जान्छन् । पूजाको दिन माझी समुदाय र माझी गाउँको आसपासका फाँटका जग्गा जमिनमा अन्य जातिले समेत खेती लगायत सम्पुर्ण काम बन्द गर्छन् । ढिकी,जाँतो डुंगा चलाउन समेत दुइ दिन बन्द गर्दछन । बनाउने, तुल्याउने, खाने, नाचगान, रमाइलो गर्ने बाहेक सम्पुर्ण काम बन्द गर्छन् । गाउँमा जेजति दुहुना छन् विहानको दुध बेच्नु, खानु, ठेकीमा हाल्नु हुँदैन, देवता रिसाउँछन्, अनिष्ठ हुन्छ भन्ने मान्यता राख्दछन् । सबै दुधबाट प्रसादकोलागि खीर बनाउँदछन् ।
पूजा स्थान गोबरले लिपपोत गरेर मूल स्थानमा ७ वटा अन्य स्थानमा एउटा देवता स्थापना गर्दछन ।
चामलको रेखी हाल्दछन । टोटलाको फुलको माला टाँग्दछन । भूँइमा टोटलाको फुल र बेलपाती ओछ्याएर त्यसमाथि अक्षता भेटी सुपारी इत्यादि समाग्री राख्दछन । पुजारीले “लौ परमेस्वरी तिम्रो मेडो (बली दिन तयार पारेको जनावर वा पञ्क्षी) चोखोछ । आङ लिएर सिरलिदेउ । देसान, मसान, रोग, व्याधि, भूतपे्रत, हटाइदेउ । अन्नपानीको सह गरीदेउ । जंगलको तस्करबाट बस्तुभाउ जोगाइदेउ । बेला बेलामा पानी पारिदेउ । शत्रुको कुरा मुनी हाम्रो कुरा माथि पारिदेउ” इत्यादि भनेर पुजारी लगायत बुढापाकाहरू बरबराउँछन् वा कोशीसँग बल माग्दछन् । कुखुरा पाठी मनाउने काम सकेपछि फेरी धुप बत्ती गरेर सहायक हरूको सहयोगमा पुजारीले बली दिन शुरू गर्छन् । बलि दिने काम सकेपछि कुखुरा र पाठीको कलेजो निकालेर आगोमा पोल्दछन । अण्डा पकाउछन । प्रसादकोरुपमा तयार पारेको खाद्य पदार्थ रोटी, खीर, पोलेको कलेजो, अण्डा, चोखो जाँड देवतालाई चढाउँछन, धुप बत्ती बाल्दछन ।
प्रसादको रूपमा सर्बप्रथम बाबर, खीर, पोलेको कलेजो, अण्डा, चोखो जाँड इत्यादि चुल्होमा अग्नीलाई, पितृलाई, भूतप्रेत, देसान मसानलाई चारै दिशा छरेर चढाउँछन् । त्यसपछि पुजारीहरूलाई र अन्य उपस्थित सम्पुर्णलाई प्रसाद वितरण गर्दछन् । प्रसाद खाइसकेपछी बलि दिएको टाउको उठाउँछन् यसलाई सिरउठाउने भन्दछन् । त्यसदिन महिलाहरूलाई पकाइ बनाई खुवाउने भान्से पुरूषनै हुन्छन् । यी भान्सेहरू पनि यस समयमा महिलाहरूलाइ खुवाउने काम सकेर आइसक्नुपर्छ । माना चामल नउठाएका अरू थप पाहुनाहरू समेत थपिनसक्छन् । थपिएका सबैलाई प्रसाद लगायत सम्पुर्ण खाद्य सामानहरू समान रूपले वितरण गर्दछन । १२–१ बजे रातीसम्म खानपिन, नाचगान गर्दछन् । खाइनसकेका सबै सामान बोकेर देवतासँग विदा माग्न जान्छन् । विदा माग्दा “तिमीले खायौ भोग, हामीले खायौं भोज, तिम्रो सक्के गरेनौ, हाम्रो सक्के गर्यौं । अक्षता पाती, धुप, बत्ती घटीबढी भए माफी पाउँ इत्यादि भनेर देवतासँग विदा माग्दछन् ।
अन्नपानी सस्तो होस् । सहकाल आओस । एकमाना तोरीको दुइमाना तेल होस जस्ता शब्द ठुलो–ठुलो स्वरले भन्दै हल्ला गर्दै होल्लरे…भन्दै घरमा पुग्छन् । घरमा महिलाहरू कोही पुरूष कोही महिलाको भेषमा नाचगान गरी बसेका हुन्छन् । पुरूषहरू घरमा पुगेपछि पुजारीलाई पुजारीकी श्रीमतीले बिवाहको विधी गरेर गोडा धोइ, बेहुली भित्रयाएको जस्तो भित्रयाउँछन् । त्यहाँ भएका सबैले सगुनको रूपमा जाँड मासु खान्छन् । रउसे युवा–युवतीहरू नाचगान गरेर रात बिताउँछन् ।
पुजाको दोश्रो दिनः
बिहान पुजारीको घरमा गाउँका महिला, पुष, पाहुना सबै भेला हुन्छन् । निम्तो नगरेका ज्वाइँ, सम्धी, महिलाको समुहमा पुरुष पुरुषको समुहमा महिला समेत आउनु जानु हुदैन । माझी भाषा बाहेक अन्य भाषा बोल्नु हुदैन । पूजा अवधिभर गाउँ छाडेर बाहिर कतै जानु हुँदैन । ढिकी–जाँतो, डुंगा चलाउनु र माछा मार्नु समेत जानुहुदैन । यी बन्देज लगाएका कुनै काम गरेमा जरिवाना तिर्नु पर्दछ । जरिवानामा एउटा भाले त्यसलाई आवश्यक तेल मसला र एक घ्याम्पा जाँड तिर्नुपर्छ । माथि उल्लेखित गल्तीहरु जसले गर्छ उसले र जसको घरमा अपरझट् पाहुना आएका छन् त्यस घरको मुलीले यो जरिवाना तिर्नुपर्छ ।
यो जरिवाना तिर्दा त्यहाँ भेला भएका सबैलाई हात जोडेर “मेरो घरमा अकास्मात पाहुना आएकोले र अन्य गर्नु नहुने जसले जे गरेको छ, यो गर्न जानिन म माफी पाउँ” भनेर माफी माग्नुपर्छ । सबैले माफ पाइस भन्छन् वा माफी दिन्छन् । यसरी जरिवाना स्वरूप जम्मा भएका कुखुराको मासु, जाँड खान्छन् । युवा–युवतीहरू महिलाले पुरूषको, पुरूषले महिलाको भेषमा घरैपिच्छे नाचगान गरेर हिड्छन् । यसमा अनिवार्यरुपले ठोकने र ख्याली नाच प्रस्तुत गर्दछन् । नाचेको घरमा आफ्नो गच्छे अनुसार तिहारमा द्यौसेलाइ दिएको जस्तो गरेर दान दक्षिना दिन्छन् ।
यसरी जम्मा भएको पैसाले पहिले पहिले भोज खान्थे अहिले कुनै सामाजिक काम गर्दछन् । यो दोश्रो दिनलाई मुलबाधा को दिन पनि भनिन्छ । मुल बाधा नफुकाइ कतैपनि जानु नहुने भएकोले बेलुका बाधा फुकाउँदछन् । बाधा फुकाउँदा पुजारी, गाउँका बुढापाका, घरमूली भेला हुन्छन् । भेला भएका सबैलाई सगुनको रूपमा जाड दिन्छन् । पुजारी वा मिझारले गौरूङलाई बाधा फुकाउन अह्राउँछ । गौरूङले धनुकाँड बनाउछ । ओखलीलाई ठड्याएर राख्छ । ठड्याएको ओखलीलाई धनुकाँडले हान्छ । छेलो हान्ने गोलो ढुङ्गाले छेलो हानेर ओखली ढाल्दछन् । उपस्थित बुढापाकालाई साइनो अनुसार ढोग्छ । त्यसपछि सबै गाउँलेले सुन्ने गरी “मैले मूल बाधा फुकाएँ आसिक सेवा सबैले बाँडी–बाँडी लिनु” भन्छ । बाधा फुकाएपछि अत्यन्त जरुरी काम भएकाहरु बाहिर जान पाउँछन् जरिवाना लाग्दैन ।
पूजाको तेश्रो दिनः
तेश्रो दिन पनि दोश्रो दिन जस्तै विहान बाधा फुकाउँछन् । बाधा फुकाइसकेपछि युवकहरू बल दाँज्ने हिसाबले छेलो हान्ने,बराह तान्ने खेल खेल्छन् । छेलो (ठुलो लोहोरो ढुंगो) सबैभन्दा टाढा जसले फयाक्न सक्छ त्यस वर्षको बलवान त्यही हुन्छ । उसलाई बुढापाकाले स्याबासी दिन्छन् । कुनैकुनै गाउमा फेटा बाधीदिने पनि चलनछ । उठाएको माना चामलको जाँड खाएर बाँकी रहेको पूजामा उपस्थित नभएका र बच्चाहरूको भाग सबैलाइ बाँड्छन । सबै विधि सकिएपछि भान्सेहरूलाई सगुन खुवाएर बिदा गर्दछन् ।
भान्से बिदा गर्नेः
भान्से विदा गर्दा पुजारी गाउका बुढापाका बसेर भान्सेहरूलाई जॉड मासु सगुन दिन्छन् । सगुन खाइसकेपछि बुढापाकाले “हामीले कोशी अथवा पानीकोपुजा ग¥यौं । पूजाको प्रसाद त्यसै खानुभएन । पकाउनु, तुल्याउनु,भागबण्डा गर्नुप¥यो तिमीहरु कसैले डाडु,कसैले पन्यु, कसैले छपनी चलायौ । कसैले पकायौ कसैले अर्तिगर्यौ । खानेले पनि खाए, नखानेले पनि खाए । पाउनेले पनि पाए, नपाउनेले पनि पाए । पुग्नेलाई पनि पुग्यो, नपुग्नेलाई पनि पुग्यो । सबैलाई पुग्यो । आजदेखि डाडु चलाउनेको डाडु, पन्यु चलाउनेको पन्यु, छपनी चलाउनेको छपनी जसले जे चलाएको थियो त्यो सबै छुट्यो । यस्तो काम तिमीहरूले सँधैभरी गरीरहनु परोस्” भन्छन् । भान्सेहरूले बुढापाकाहरुलाई साइनो अनुसार ढोग्दछन् बुढापाकाले जे मनमा चितायो सोही पुगोस भन्ने आशिक दिन्छन् । यो विधी गरेपछि कोशीपूजा पुर्ण भएको मान्दछन् ।
अन्त्यमा माझी समुदायले यो चाड कहिलेदेखि मनाउन शुरू गरेकाहुन् भन्नेबारे कुनै जानकारी छैन । यसको अध्ययन अनुसन्धानहुन बाकी छ । यो चाड ज्यादै पुरानो हो । माझी समुदाय प्रकृतिपूजक भएकोले नै प्रकृतिको महत्वपूर्ण अंग कोशी अथवा पानीको पूजा गरेका हुन् । नेपाल एक बहुसांस्कृतिक मुलुक भएकोले माझी समुदायको प्रमुख चाड कोशीपूजाको संरक्षण र संवद्र्धन गर्न सकिएन भने देशको संस्कार संस्कृति नै लँगडो हुन जान्छ । यो पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउन सकियो भने संस्कृतिको संरक्षणमा टेवा पुग्नेछ । माझी समुदायको यो पर्व ज्यादै महत्वपूर्ण भएकोले यसको पूर्व तयारीमा समेत अलि ध्यान पु¥याउनु जरूरी छ । शुरूदेखि अन्त्यसम्म के कस्ता कृयाकलाप गरिन्छ भन्नेबारे जानकारी हुनु जरूरी छ ।
जातीय संस्कृति हरायो वा लोप भयो भने जातीय अस्तित्व नै रहँदैन । अस्तित्वविहिन हुनु मरे सरह हो । यो चाडपर्वलाई व्यवस्थित गर्न‘ ढिलो भैसकेको छ । कोशीपूजाको बारेमा व्यापक प्रचारप्रसार गरी कसरी, कहिले गर्ने भन्ने विषयमा देशव्यापी रूपमा व्यापक छलफल गर्नुपर्ने देखिन्छ । अन्य जनजातिको पर्व जस्तै ल्होछार, न्हुद, उधौली र माघीले मान्यता प्राप्त गरी राष्ट्रिय पर्वमा सुचिकृत भैसकेका छन् । कोशीपूजा माझी समुदायको प्रमुख तथा महत्वपूर्ण चाडपर्व भएकाले यसलाई राष्ट्रिय पर्वमा सूचीकृत गराउनु पर्छ । सबै ठाउँका माझीले विभिन्न प्रकारले कोशीपूजा गर्ने गरेका छन् एकरुपता छैन । पूजाको वास्तविक विधि लोप हुँदैछ । यो सामुहिक रूपमा मनाइने चाडपर्व भएकाले सबैको सहभागिता हुनु जरुरीछ । सबै जिल्ला गाउँमा एकै दिन यो पर्व मनाउनु पर्छ । अघि वा पछि गर्दा यसको महत्व नै कम हुन्छ । यसो गर्नसकेमात्र राष्ट्रिय पर्वको रुपलिनसक्छ अन्यथा लोपहुने निश्चितछ ।
माथि उल्लेख गरिएका पूजा विधि र सामग्री अझै अपुरो अथवा धेरै छुटेका हुनसक्छन् । सबै ठाउँको पूजा विधि र सामग्री संकलन गरी एकरूपता ल्याउनु अति आवश्यक छ । पुरूष सबैको र महिलाको प्रतिघर एक जनाकोलागि मात्र उठाउँदा महिला र पुरूषमा भेदभाव गरेको देखिन्छ । महिला पुरूष सबैको समान रूपले उठाउने र समान व्यवहार गर्नु पर्छ । दशैंमा टिका लगाएजस्तै यस पर्वमा मान्यजनको हातबाट टिका लगाउने आशिष लिने दिने गर्नु ज्यादै उपयुक्त हुन्छ जसले गर्दा यो पर्वको महिमासमेत बढ्नेछ । यस पर्वलाई माझी समुदायले दशैंभन्दा बढी प्राथमिकता दिनुपर्छ । कोशीपूजामा माझीबाहेक अरूलाई समावेश नगराउने चलनले यसको आस्था घटाएको छ । अन्य जात जातिलाई पनि समावेश गराउनु आवश्यक छ ।
यसको सुरूवात माझी धेरै बसोबास भएको गाउँमा गर्नु उपयुक्त हुन्छ । कोशीपुजा धेरै जाडो वा गर्मी नहुने फागुनको तेश्रो सातामा गर्नु राम्रो हुन्छ । फागुन केही फुर्सद हुने भएकाले फुर्सदको समयमा यस्तो चाडपर्व मनाउनु सबै दृष्टिले उपयूक्त हुन्छ । यो पर्व शनिवार वा मङ्गलबार मनाउने चलन छ । शनिवार भन्दा मङ्गलवार तोक्नु राम्रो हो किनभने शनिबार त्यसै विदा छ । यो पर्वमा कसैकसैले अश्लिल शब्द बोल्ने गरेको पाइन्छ । यसमा हदैसम्मको प्रतिबन्ध लगाउनु जरूरी छ । कोशीपूजामा अनिवार्य रूपमा माझी भाषा बोल्नुपर्ने देखिएको छ ।
माझी भाषा लोप हुँदै गएकोले यसको संरक्षणको लागि अनिवार्य रूपमा माझी भाषा बोल्ने, बोल्न सिकाउने, मेलमिलाप गराउने पर्वको रूपमा स्थापना गराउनुपर्छ । मनमुटाव हटाउने सदभाव बढाउने किसिमका कार्यक्रम अपनाउनु आवश्यक छ । खाद्य पदार्थमा जाँडलाई प्राथमिकता दिएको देखिन्छ । यसलाई सगुनको रूपमा र अन्य खाद्यपदार्थलाई बढी प्रयोग गर्नुपर्ने देखिन्छ । माथि उल्लेख भएका सजाय र जरिवाना व्यवस्था यथावत् राख्नुपर्ने यसले पर्वको महत्व बढाउँछ । पूजाको दोश्रो दिन विहान टिका लगाउने साइनो अनुसार सबैमा ढोगभेट गर्नु राम्रो हुन्छ । नया लुगा लगाउने,नया राम्रो काम थालनी गर्ने प्रथाको रूपमा यो पर्वलाई लिनुपर्ने देखिन्छ ।
पूजारी भित्रयाउने चलनलाई यथावत् राखी महिलाहरूलाई बनाइ तुल्याइ खुवाउने भान्से पुरूष हुनु राम्रो हो । वर्षको एकदिन भएपनि महिलालाई भान्सेको काममा सघाएको देखिन्छ । पूजाको आयोजक समिति बनाई सहायक पूजारीको व्यवस्था गर्नु जरूरी छ । नाचगान परम्परागत लोकसांस्कृतिक कार्यक्रमलाई (ठोकने र ख्याली नाच) प्राथमिकता दिई व्यवस्थीत गर्नुपर्नेछ । यस पर्वमा शुभकामना आदानप्रदान गर्नु राम्रो हो । छेलो हान्ने बराहतान्ने खेलमा जित्नेलाई पुरस्कारको व्यवस्था गर्नु उपर्यक्त देखिन्छ ।
माथि उल्लेखित कुरा गर्नसके माझी जातिको महत्वपूर्ण चाडपर्व कोसीपूजाको संरक्षण हुने, देशलाई नै संस्कृतिको संरक्षणमा टेवा पुग्ने, माझी जातिको जातीय पहिचान तथा अस्तित्व कायम रहने भएकोले कोशीपूजाको संरक्षण र सम्वद्र्धन गर्नको लागि सम्पूर्ण माझी समुदायले भएभरको जाँगर निकाल्नु ढिला भैसकेको छ ।
(लेखक :माझी संघ नेपालका सल्लाहकार हुन्)
