जिल्ला सचिवालय बैठकद्वारा कार्यविभाजन
पोखरा, १८ फागुन
नेकपा–माओवादी कास्की पार्टी केन्द्रीय समितिद्वारा घोषित ‘मेची–महाकाली राष्ट्रिय अभियान’ (मेम) अभियानमा जुटेको छ ।
जस अनुसार विभिन्नस्तरका भेला, प्रशिक्षण तथा बैठकहरू भइरहेका छन् । अभियानकै क्रममा नेकपा–माओवादी कास्कीको जिल्ला सचिवालय बैठकले विभिन्न जिम्मेवारी बाँडफाँडसहित कार्यविभाजन समेत गरेको छ ।
कार्यविभाजन अनुसार कास्की निर्वाचन क्षेत्र नं. १ को संयोजकमा लालबहादुर गुरुङ चयन भएका छन । गुरुङले यसअघि, पार्टीको कास्की क्षेत्र नं. २ र ३ को सेक्रेटरीको जिम्मेवारी लिएर काम समेत गरिसकेका छन । क्षेत्र नं. १ का संयोजक सूर्य खड्का ‘आलोक’ जिल्ला सह–सेक्रेटरी बनाइएपछि सो क्षेत्रमा नेतृत्व खाली रहेको थियो ।त्यस्तै, क्षेत्र नं. २ को संयोजकमा शिव खनाल ‘महादेव’ चयन भएका छन , खनाल यसअघि, क्षेत्र नं. १ को संयोजक थिए । क्षेत्र नं. २ का संयोजक अशोक छन्त्याल ‘अर्जुन’ पार्टीको जिल्ला सेक्रेटरी भएपछि सो क्षेत्र समेत नेतृत्वविहीन बनेको थियो ।
त्यसैगरी, सो सचिवालय बैठकले दलित राष्ट्रिय मुक्ति मोर्चा कास्कीको संयोजकमा दिलीप सुनार, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको संयोजकमा अटल राई, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) कास्कीको संयोजकमा दुर्गा अधिकारी, जिल्ला विकास समिति, कास्कीमा सूर्य खड्का ‘आलोक’, पोखरा उपमहानगरपालिकामा शिव खनाल ‘महादेव’, शान्ति समितिमा परशुराम कोइराला, लेखनाथ नगरपालिकामा सन्तबहादुर भुजेललाई जिम्मेवारी दिएको छ । कास्की क्षेत्र नं. ३ को संयोजकमा राजकुमार सुवेदी ‘राजन’ र क्षेत्र नं. ४ को संयोजकमा सूर्य खड्का ‘आलोक’ यथावत रहेका छन ।
सो बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’ र केन्द्रीय सदस्य लोकबहादुर थापामगरले पार्टीको भावी रणनीतिका बारेमा दिशा निर्देश गरिएको कास्की जिल्ला सेक्रेटरी अशोक छन्त्याल ‘अर्जुन’ले जानकारी दिए ।
