देब पचभैया
पाल्पा, फागुन १७ – श्रीनगर यातायात ब्यवशायी समिति पाल्पाले आईतबार देखि पाल्पा – काठमाण्डौमा संचालन हुने गरी करुवा नामक बस सेवाको शुरुवात गरेको छ ।

तानसेन स्थित हुलाक घर निर एक कार्यक्रमको आयोजना गरी पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले काठमाण्डौ छुट्न लागेको बसको प्रबेशद्धारमा राखिएको रिवन काटेर उद्घाटन गरेको हो । उनले सोही बसमा काठमाण्डौ हिडेका यात्रुहरुलाई अबिर लगाई शुभयात्राको कामना समेत दिए । यातायात क्षेत्रमा सेवा र गुणस्तरको प्रतिस्पर्धा हुनु जरुरी भएको उनको भनाई थियो ।
कार्यक्रममा समितिका अध्यक्ष डिलबहादुर ढुंगानाले पाल्पामा आन्तरिक र बाह्य पर्यटक बढाउनको लागी स्तरिय मिनि बस सेवा प्रदान गरेको बताए । आफुहरुले संचालन गरेको सेवालाई स्तरिय बनाउने भन्दै वाईफाई, एलईडि, एसि लाईट लगाएतको सुबिधा प्रदान गर्ने उनको भनाई थियो । यात्रीको सिट आरामदायी बनाउने र यात्रुको गुनासोलाई ध्यान दिएर हाईवएको होटलमा नभएर दाया बायाका होटलमा खाना खुवाउने ब्यवस्था गरेको ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार मेघराज शर्माले बस सेवाको सुरुमा स्तरिय हुने तर संचालन हुदै गएपछि गुण स्तरमा ध्यान नदिने प्रबृति रहेको भन्दै यस बिषयमा सचेत बन्न समितिलाई आग्रह गरे । २०५३ सालमा पाल्पा जिप ब्यवशायी समिति बाट सेवा शुरु गरेको श्रीनगर यातायात ब्यवशायी समितिले शुरु देखि नै जिल्ला भरी जिप सेवा प्रदान गरिरहेको छ ।
यस अघि पश्चिमाञ्चल यातायात ब्यवशायी संघ र पछिल्लो समयमा रानीमहल बस सेवा बाट पनि पाल्पा काठमाण्डौ चल्ने बस सेवा संचालन भैररहेका छन् ।
