देब पचभैया
पाल्पा, फागुन १५
३३ औँ मगर संघ स्थापना दिवस तथा मगर दिवस जिल्लाको विभिन्न स्थानमा सम्पन्न भएका छन् । पाल्पाको सराई, बौघागुम्हा, बौघापोखराथोक, दर्लामडाँडा, पालुङ्मैनादी, रामपुर, अर्गली, पीपलडाँडालगायतका स्थानमा विभिन्न कार्यक्रम सहित भव्य रुपमा मगर दिवस मनाइएको हो ।
कसेनीको सराईमा सराइ मगर समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य तुलसा रानाले पहिचानले सबै जाति र समुदायलाई फाइदा पुग्ने बताए । उनले पहिचान सबै जाति र क्षेत्रका लागि आवश्यक हो तर अहिले उत्पीडित जाति र समुदायलाई आवश्यक परेको भन्दै पहिचान कायम गरे अरु जातिलाई बेफाइदा होइन फाइदै हुने विस्वास राखेका थिए ।
उनले उत्पीडित जाति समुदायमा जन्मिएकै कारणले विभेदको सिकार हुन नहुनेमा जोड दिदैँ भाषा र संस्कृतिको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि राजन बलाल, नेकपा एमाले कसेनी गाउँकमिटि अध्यक्ष मानध्वज दर्लाली, नवसंवाद साप्ताहिकका सम्पादक रेखीराम रानाले दिवसले मगर समुदायलाई एकताबद्ध भएर अघि बढ्न प्रेरणा दिने बताए। यस्तै समाजसेवी नरबहादुर राना, दिव्यज्योति उमाविका प्राचार्य नारायण अधिकारी, नेपाल मगर संघका पूर्व जिल्ला सदस्य गुनबहादुर रानाले मगर दिवसको अवसरमा शुभकामना दिएका थिए ।
यसअघि स्थानीय मगर समुदायबाट ल्याइएका झाँकीसहितिका र्याली सराइ बजार, खहरे र खिरौलीधारा बजारमा पुगेको थियो । कार्यक्रममा खोमबहादुर गाहाको स्वागत, नारायणसिं रानाको संचालन र स्थानीय अगुवा यमबहादुर चिदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
।
यस्तै बौघागुम्हामा पनि मगर दिवस मनाइएको छ :
सोही अवसरमा प्रमूख अतिथि नेपाल मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहा, सचिव रामबहादुर गरम्जा, जहरसिं सारु, तुकबहादुर अर्गाली, घनश्याम राना, धनीसरा थापाले शुभकामना दिए । बौघागुम्हामा मगर संस्कृति झल्कने, जिबैमामा, सालैजो, ठूलो नाँच समेत प्रदर्शन गरिएको थियो ।
बौघागुम्हामा समेत मगर समुदायले र्याली तथा मगर समुदायमा प्रचलित खानामा परिकारहरु पाहुनालाई खुवाएका थिए । कार्यक्रम मगर संघ बौघागुम्हाका अध्यक्ष टेकबहादुर रानाको सभापतित्व र सचिव चेतबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
