प्रथम अन्तराष्ट्रिय मगर सम्मेलन काठमाडौंमा हुने

Read Time:3 Minute, 9 Second

देब पचभैया

काठमाडौं फागुन १३ – संसारभर छरिएर रहेका मगरहरुको सामुहिक एकता, सहकार्य र कार्यगत एकताका लागि प्रथम अन्तराष्ट्रिय मगर सम्मेलन हुने भएको छ ।

नेपाल मगर संघको ३३ औं स्थापना दिवसका अवसरमा नेपाल मगर संघ र अन्तरािष्ट्रय मगर मञ्चको संयुक्त आयोजनामा प्रथम अन्तराष्ट्रिय मगर सम्मेलन हुन लागेको हो । नेपाल मगर संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी अन्तराष्ट्रिय मगर सम्मेलनले मगरात प्राप्तिका लागि आन्दोलनरत मगरहरुको मुद्दामा महत्वपूर्ण भूमिका खेल्ने बतायो । अन्तराष्ट्रिय मगर सम्मेलनमा १९ वटा विदेश शाखामध्ये १३ वटा शाखाका प्रतिनिधि सहभागी हुने नेपाल मगर संघका उपाध्यक्ष गंगा थापामगरले जानकारी दिए ।

सम्मेलनमा देश विदेशका गरी ३० जना प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहनेछ । फागुन १५ गते सम्मेलनको औपचारिक उद्घाटन हुने भएपनि ३३ औं मगर एकता दिवस तथा ४३ औं चिन्डिके डुप्के कार्यक्रमको अवसरमा फागुन १४ गतेदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिने मगर संघले जनाएको छ । मगरहरुको संस्कार संस्कृतिको जगेर्ना गर्ने, मगरात पहिचान प्राप्तिका लागि एकता पैदा गर्ने, सबैखाले विभेद र उत्पीडनको विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्ने लगायका उद्देश्यकासाथ स्थापना दिवस, चिन्डिके डुप्के एवं अन्तराष्ट्रिय प्रथम मगर सम्मेलनको आयोजना गरिएको नेपाल मगर संघको विज्ञप्तिमा उल्लेख छ ।

मगर संघ तथा मगर अन्तराष्ट्रिय मञ्चको आयोजनामा फागुन १४ गते मैत्रिपूर्ण फुटबल, लिगलिग दौड, हाजिरी जवाफ प्रतियोगिता, लोकदोहोरी लगायतका कार्यक्रमहरु गरिने छन् भने फागुन १५ गते सांस्कृतिक झाँकी र्याली वसन्तपुरबाट शुरु भई टुडिखेल प्रवेश गर्नेछ । सोही दिन दिनको १ बजे ३३ औं स्थापना दिवस, ४३ औं चिन्डिके डुप्के (वनभोज) कार्यक्रम २०७१ तथा प्रथम अन्तराष्ट्रिय मगर सम्मेलनको उद्घान गरिने कार्यक्रम तय भएको छ । देशभरका ७३ मगर संघ जिल्ला शाखामध्ये ७१ जिल्ला शाखा नेपाल मगर संघमा आवद्ध छन् ।

नेपाल मगर संघ तथा मगर अन्तराष्ट्रिय मञ्चको आयोजनामा हुने उक्त संयुक्त कार्यक्रममा १०० स्टल राखिने आयोजकले जनाएको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %