गोविन्द घर्ती
देवदह ,फागुन ९ – राज्यले प्रदान गर्ने अनुदान वास्तविक कृषक सम्म पुग्न नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
उनीहरुले वास्तविक कृषक सम्म अनुदान पुर्याउन कमिसनको प्रवृतिलाई हटाउनु पर्नेमा जोड दिएका थिए । प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको अवसरमा देवदह नगरपालिका द्धारा आयोजित बृहत्त कृषक भेलामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले कृषि क्षेत्रको विकास विना देशको आर्थिक उन्नती हुन नसक्ने हुदा कृषिलाई व्यवसायीक बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले परम्परागत पशु पालनलाई व्यासायीक बनाउन सकिएमा बेरोजगारको समस्या समाधान हुन सक्नेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. गान्धीराज उपाध्यायले घासमा आधारित पशुपालन गर्ने, गोठ सुधार गर्ने, परजीवि विरुद्ध औषधी खुवाउने र सही समयमा खोप लगाउने हो भने व्यवसायीक पशुपालन गरी आर्थिक उपार्जन गर्न सकिनेमा जोड दिए ।
डा.उपाध्यायले देवदह क्षेत्र पशुपालन र दुध उत्पादनको पकेट क्षेत्र भएको कारण जिल्ला पशुसेवा कार्यालयले सक्दो प्राविधिक सहयोग गरीरहेको बताए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल, कृषि कार्यालय रुपन्देहीका प्रमुख कृष्णभक्त अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टा, नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, नेकपा माओवादीका जिल्ला सदस्य नमराज पुरी, एमाओवादीका जिल्ला सदस्य टिका गौतम, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, चोडाप्रसाद चापागाई लगायतले बोलेका थिए ।
कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, नेपाल डेरी एशोसियसनका सचिव हिराबहादुर खत्री, देवदह दुग्ध उत्पादक सहकारीका व्यवस्थापक प्रकाश अर्याल, लुम्विनी दुग्ध वितरण आयोजनाका भोजराज खरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथी, कृष्णप्रसाद भूषाल, श्याम विक, लोचन अधिकारी, गौरी न्यौपाने, मनमोहन यादव, शेरबहादुर तामाङ्ग, गिरप्रसाद पाण्डे, प्रेम भूर्तेल लगायतले बोल्दै किसानलाई राज्यले वेवास्ता गरेको कारण पशुपालन र कृषि व्यवसाय व्यवसायीक बन्न नसकेको बताएका थिए ।
महामाया पशुपालन समितिका अध्यक्ष विष्णु ज्ञवालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
