भिक्षुबाट बौद्ध धर्म देशना र बुद्ध पूजा
रूद्र श्रीसमगर
पोखरा, ७ फागुन – नेपाल मगर बौद्ध सेवा समाज कास्कीको आयोजनामा बिहीबारदेखि पोखरामा तीन दिने परित्राण पाठ (महायज्ञ) सुरु भएको छ ।
सुख, शान्ति र मानव कल्याणका लागि आयोजित सो परित्राण पाठको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष पानबहादुर घर्तीले बौद्ध धर्म नेपालको मौलिक धर्म भएको बताए ।
बौद्ध धर्म, बुद्ध र आदिवासी जनजातिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष घर्तीले आदिवासी जनजातिहरूले आफ्नो मौलिक धर्म, संस्कृतिको संरक्षणका लागि जागरुक हुनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापामगर, नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय सदस्य सूर्यबहादुर थापामगर, बौद्ध अर्घौं सदन, रामघाटका अध्यक्ष क्या. भुवनसिंह तमु, थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
परित्राण पाठको पहिलो दिन बिहीबार भिक्षु महास्थविर भदन्त सम्यक सम्बोधि प्राणपुत्र घुमन्ते भिक्षु, महास्थविर श्रद्धानन्द र अनगारिका कर्मशिलाले बुद्ध धर्म देशना प्रवचन दिनुभएको थियो भने बुद्ध पूजा पनि गरिएको थियो । साथै, ज्ञानोदय बौद्ध बिहार, बागलुङ र ज्ञानमाला भजन सङ्घ, नदीपुरको सहभागिता रहेको थियो ।
अध्यक्ष सु. चन्द्रबहादुर मसराङगी मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केबी थापामगरले गरेका थिए भने नेपाल मगर बुद्धिष्ट परिषद्का केन्द्रीय सदस्य टीबी पुनमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
‘दान गरौं, पुण्य कमाऔं’ भन्ने नाराका साथ शनिबारसम्म चल्ने सो परित्राण पाठका क्रममा दान सड्ढलन समेत सुरु गरिएको छ । कार्यक्रमबाट सड्ढलित रकम सामाजिक कार्यमा लगानी गरिने सचिव केबी थापामगरले जानकारी दिए ।
