रूद्र श्रीसमगर
स्याङ्जा, २ फागुन – विभाजन भएपछि पहिलोपटक स्याङ्जामा एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीले २० औं जनयुद्ध दिवस संयुक्त रूपमा मनाएका छन् ।
एमाओवादी र माओवादीले नारा, जुलुससहित शुक्रबार स्याङ्जा बजार परिक्रमा गरी कोणसभा समेत सम्पन्न गरे । कोणसभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य लोकबहादुर थापाले नयाँ जनवादी क्रान्ति पूरा गर्न जनविद्रोह आवश्यक रहेको र त्यसको तयारीका लागि आफ्नो पार्टीले मेची–महाकाली अभियान सुरु गरेको जानकारी दिए ।
पार्टी, संगठनलाई सुदृढ र एकताबद्ध गर्दै जनयुद्धको जगमा जनविद्रोहको तयारीलाई अघि बढाउनुपर्ने बताउँदै नेता थापाले अहिलेको संविधानसभा तत्काल विघटन गरी सर्वपक्षीय राजनीतिक सभा आयोजना गरिनुपर्ने समेत बताए । नेकपा–माओवादी स्याङ्जाका सेक्रेटरी पारस शर्माले समेत कोणसभालाई सम्बोधन गर्दै वर्तमान संविधानसभाको औचित्य सकिइसकेको जिकिर गर्दै जनताको संविधान निर्माणका लागि विद्रोह नै एकमात्र विकल्प रहेको बताएका छन ।
