रूद्र श्रीसमगर
पोखरा, १ फागुन
नेकपा–माओवादी कास्कीको सेक्रेटरीमा अशोक छन्त्याल ‘अर्जुन’ र सह–सेक्रेटरीमा सूर्यबहादुर खड्का ‘आलोक’ चयन भएका छन ।
शुक्रबार सम्पन्न बैठकले अर्जुनलाई सेक्रेटरी र आलोकलाई सह–सेक्रेटरी बनाउने जिल्ला कार्यालयको प्रस्तावलाई अनुमोदन गरेको हो । बैठकले मेची–महाकाली अभियानकै क्रममा छिट्टै जिल्ला सम्मेलन आयोजना गर्ने निर्णय समेत गरेको छ ।
सो बैठकमा प्रशिक्षणमूलक आफ्नो भनाइ राख्दै नेकपा–माओवादीका स्थायी समिति सदस्य एवं पश्चिमाञ्चल ब्यूरो इञ्चार्ज इन्द्रमोहन सिग्देल ‘वसन्त’ले पार्टीले अघि सारेको छ बुँदे आधार माने मात्रै एकीकृत नेकपा (माओवादी)सँग एकता हुन सक्ने स्पष्ट पारे ।
परी थापा नेतृत्वको नेकपा (एकीकृत)सँगको एकीकरणका सन्दर्भमा केही प्राविधिक कुरा मात्र मिल्न बाँकी रहेको जनाउँदै नेता वसन्तले एमाओवादीसँग सकेसम्म साझा राजनीतिक नारा बनाएर अघि बढ्ने प्रयत्नमा आफूहरू रहेको प्रष्ट पारे ।
केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरिबहादुर चुमान ‘अजित’को अध्यक्षतामा सम्पन्न भएको बैठकले कास्कीमा पार्टीको मेची–महाकाली अभियान सञ्चालन गर्न सेक्रेटरी र सह–सेक्रेटरीको नेतृत्वमा दुई टोली निर्माण समेत गरेको छ ।
