रूद्र श्रीसमगर
पोखरा, १ फागुन
नेकपा–माओवादीले २० औं जनयुद्ध दिवसका अवसरमा शुक्रबार पार्टीद्वारा घोषित ‘मेची–महाकाली अभियान’को उद्घाटन गरेको छ ।
माओवादीले पार्टीको संगठन सुदृढीकरण, विस्तार तथा जनसेवा र जनकारबाही अभियान अन्तर्गत सो अभियानको देशैभरि एकैचोटि उद्घाटन ग¥यो ।
कास्कीमा पनि नेकपा–माओवादी कास्कीले शिवालय मार्गस्थित जिल्ला पार्टी कार्यालयबाट नाराबाजीसहित जुलुस सुरु गर्दै लखनचोकमा पुगी कोणसभाको आयोजना गरेको थियो ।
कोणसभामार्फत् नेकपा–माओवादीका स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देल ‘वसन्त’ले मेची–महाकाली अभियानको उद्घाटन गरेका थिए ।
अभियानको उद्घाटनपछि बोल्दै नेता वसन्तले पार्टी संगठन सुदृढ गर्न र राजनीतिक भण्डाफोरका लागि अभियान सुरु गरिएको बताए । अभियानले नयाँ जनवादी क्रान्तिका लागि जनविद्रोहको ढोका खोल्ने भन्दै नेता वसन्तले दुई महिने अभियान मार्फत् आन्दोलन नयाँ उचाइमा विकास हुने दाबी गरे ।
केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरिबहादुर चुमान ‘अजित’ले गाउँ–गाउँबाट दलाल र जाली फटाहाहरूलाई लखेट्ने चेतावनी दिए ।
जनविरोधी र राष्ट्रघाती दलाल एवं प्रतिक्रियावादी शक्तिहरू देशैबाट भाग्नुपर्ने अवस्था आउने जिकिर गर्दै नेता अजितले आफूहरूको अभियान जनयुद्धको जगमा जनविद्रोहको लागि तयारी भएको बताए ।
