शिक्षा सुध्रिए देश सुध्रिन्छः शिक्षामन्त्री यादव
रूद्र श्रीसमगर
पोखरा, २६ माघ
शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा सुध्रिए मात्र देश सुध्रिने बताएकी छिन । सीताराम उच्च मावि, थुमाकोडाँडा–९, माझपोखरी, सीताराम निमावि, थुमाकोडाँडा–३, याङ्जाकोट तथा याङ्जाकोट तमु समाज, पोखराको आयोजनामा भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सोमबार उद्घाटन गर्दै शिक्षामन्त्री यादवले त्यस्तो बताएको हो ।
‘शिक्षा सुध्रिए देश सुध्रिन्छ’, नेपाली कांग्रेसका कोषाध्यक्ष समेत रहेका यादवले भने, ‘शिक्षा बिग्रिए देश बिग्रिन्छ ।’ शिक्षामन्त्रीय यादवले शिक्षा नै देश विकासको मेरुदण्ड भएकाले देशमा गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याए ।
‘जबसम्म गुणस्तरीय शिक्षा दिन सक्दैनौं, तबसम्म हामीले केही गर्न सक्दैनौं’, शिक्षामन्त्री यादवले भनिन, ‘शिक्षामा राज्यको ठूलो लगानी आवश्यक छ, तर, सरकारको लगानी पर्याप्त हुन सकेको छैन ।’ समुदायले शिक्षा क्षेत्रमा गरेको लगानी उल्लेखनीय रहेको भन्दै शिक्षामन्त्री यादवले विद्यालयको भौतिक पूर्वाधार मात्र नभइ शिक्षण सिकाइ समेत प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
‘जबसम्म शिक्षण सिकाइ प्रभावकारी हुँदैन, तबसम्म सिकाइ राम्रो हुँदैन’,मन्त्री यादवले भने, ‘हाम्रो ध्यान विद्यालय भवनमा मात्र केन्द्रित छ, कक्षाकोठाभित्र हुने शिक्षण सिकाइमा समेत ध्यान जानु जरुरी छ ।’ सबैभन्दा महत्वपूर्ण भनेको प्राथमिक तहको शिक्षा भएको भन्दै प्राथमिक तहको शिक्षालाई नै जोड दिनुपर्ने बताए ।
विद्यालयका लागि शिक्षा मन्त्रालयबाट दिइने अनुदानका लागि आफूले अधिकतम प्रयास गर्ने भन्दै शिक्षामन्त्री यादवले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि भारतीय राजदूतावाससँग समेत सकारात्मक कुराकानी भइरहेको उल्लेख गरे । देशलाई चाहिने जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको यादवको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद् जीवन परियारले विद्यालयको चौतर्फी विकासका लागि आफूले सक्दो सहयोग गर्ने भन्दै ५० हजार रुपैयाँ सहयोग घोषणा गरे । बहुमतीय प्रक्रियाबाटै भएपनि लोकतान्त्रिक संविधान निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
पूर्व सभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले देश विकासको प्रमुख आधार शिक्षा र विज्ञान प्रविधि भएको बताए । संविधान निर्माणमा सबै पक्षको रचनात्मक भूमिका आवश्यक रहेकोमा जोड दिँदै पूर्व सभामुख रानाभाटले अहिले भएको डरलाग्दो ध्रुवीकरणको अन्त्य गरी बुद्धिमत्तापूर्ण र संयमतापूर्वक संवादका माध्यमबाट निकास खोजिनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस कास्कीका जिल्ला सभापति एवं कास्की क्षेत्र नं. १ का सभासद् यज्ञबहादुर थापाले गुणस्तरीय शिक्षाले दिने ज्ञान, सीप, विज्ञान र प्रविधि भए मात्र देश शक्तिशाली हुने उल्लेख गरे । दुई तिहाइ बहुमतीय प्रक्रियाबाट भएपनि अहिलेको संविधानसभाले संविधान जारी गरेरै छाड्ने ठोकुवा गर्दै सभासद् थापाले ८० प्रतिशत सभासद्लाई २० प्रतिशत सभासद्ले संविधान निर्माण गर्न नदिएको आरोप समेत लगाए । विद्यालयको प्रगतिमा सदा साथ रहने प्रतिबद्धता व्यक्त गर्दै सभासद् थापाले महायज्ञका अवसरमा ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
सो अवसरमा याङ्जाकोट तमु समाजका अध्यक्ष क्या. दलबहादुर तमु, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष तिलक रानाभाट, नेपाली कांग्रेस कास्कीका सचिव कृष्ण केसी, जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्य, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, याङ्जाकोटका प्रमुख नरेन्द्र लामालगायतले बोलेका थिए ।
सीताराम उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालन प्रचार संयोजक देवीज·गुरुङ र रोशनी गुरुङले गरेका थिए ।
गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखी सीताराम उच्च माविको भौतिक पूर्वाधार तथा अन्य शैक्षिक व्यवस्थापनका लागि आयोजित महायज्ञको पहिलो दिन सोमबार नगद २७ लाख ४९ हजार ५ सय ४ सहित ४१ लाख रुपैयाँ सङकलन भएको प्रचार संयोजक देवीज·गुरुङले जानकारी दिए ।
