देविका घर्तीमगर
दाङ, माघ २४ – नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव तथा संविधान सभाका सदस्य पेम्बा गुरुङ भोटेले पहिचानका पाँच आधारमा संघियतामा जानुपर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दाङल शनिवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भोटेले पहिचानाका पाँच आधारहरु जाती, भाषा, संस्कृति, ऐतिहासिक पृष्ठभूमी र भौगोलिक निरन्तरताका आधारमा संघियतामा जान सकिने बताएको हो । संविधान निर्माण प्रक्रियामा बिद्यमान गतिरोधमा निर्णायक भुमिका खेल्नका निमित्त राष्ट्रको चौथो अङ्ग सञ्चारक्षेत्रले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै त्यसका निमित्त भूमिका निर्वाह गर्न आग्रह गरे ।
अहिलेको बर्तमान राजनीति देशका ठुला राजनीतिक दलको सिन्डिकेटमा बन्धक भएकै कारणले संविधान निर्माण प्रक्रिया अन्योलमा परेको बताउँदै महासंघले गर्दै आएको आदिवासी जनजातिको आन्दोलन राज्यको विभेदकारी नितिका कारण पछाडी परेका आदिवासी जनजाति समुदायका अधिकारसम्पन्न नहुँदासम्म जारी हुने बताए । सभाषद् समेत रहेका उनले संविधानसभामा जुन पार्टीका माध्ययमबाट गएपनि आदिवासी जनजातिका मुद्दाबाट पछाडी नहट्ने बताए । आदिवासी जनजातिका मुद्दा कसरी संविधानमा सुनिश्चित गर्ने भन्ने कुरा अहिलेको एजेण्डा भएकाले आफुहरु ति कुरामा केन्द्रित हुने बताए । आदिवासी जनजातिले खोजेको अधिकार भनेको सबैले समान अधिकार पाउनुपर्छ भन्ने रहेको बताउँदै महासचिव भोटेले प्रत्ययेक क्षेत्रमा प्रदेशहरु निर्माण गर्दा नामाँकन सिमाँकनमा ध्यान दिनुपर्ने बताए ।
पत्रकार भेटघाटमा पत्रकारहरुले सोधेको जिज्ञासामा भोटेले एउटा सुन्दर बगैंचामा सयौं थरीका फुल फुले पछि मात्र नयाँ नेपालको सुगन्ध मगमगाउने कुरा उल्लेख गर्दै त्यही सयौं थरी फुल फुलाउनका निमित्त आदिवासी जनजाति महासंघले आफ्नो आन्दोलन केन्द्रित गरेको बताए । कुनै जाति वा समुदायको नाम राखेर मात्र ति समुदायको अधिकार सुनिश्चित हुन नसक्ने बताउँदै भोटेले त्यसभित्रका आधारभूत कुराहरु पुरा गर्न जरुरी रहेको बताए । कुनै समुदाय वा क्षेत्रको नामबाट प्रदेश निर्माण गरिएपनि त्यसभित्र विशेष संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र, समुदाय निर्माण गरेर त्यस प्रदेशभित्र रहेका समुदायहरुको विशेष ब्यवस्थाद्धारा विकास र प्रतिनिधित्व सुनिश्चित गर्न सकिने महासचिव भोटेले बताए । आदिवासी जनजाति महासंघ एक मधेश, एक प्रदेशको पक्षमा विल्कुलै नभएको बताउँदै उनले पहाडमा जति प्रदेश निर्माण गरिन्छन् त्यति नै प्रदेश तराईमा पनि निर्माण गरिनुपर्ने बताए ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दाङका अध्यक्ष देविका घर्ती मगरको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सहजिकरण सदस्य नवीन चौधरीले गरेका थिए ।
