राज्यसत्ता
स्याङ्जा , माघ २३ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दलहरुबीच अहिले विवाद रहेपनि कांग्रेस एमाले लगायतका सत्तारुढ दलहरु संविधानसभाबाट संविधान जारी गर्ने पक्षमा रहेको बताए ।
संविधानसभाबाट संविधान जारी गर्ने र नगर्नेका बीचमा राजनीतिक ध्रुविकरण बनाउन खोजिए पनि सत्तारुढ दलहरु प्रक्रियाबाटै भएपनि देशलाई नयाँ संविधान दिनतर्फ केन्द्रीत भएको बताए । नेकपा एमाले जिल्ला कमिटी प्रचार विभाग स्याङ्जाले वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले संविधानसभाबाट बाहिरिएको एकीकृत माओवादीलगायतको मोर्चालाई पनि संविधानसभामा आएर सहमतिसँगै अगडि बढ्नकालागि आग्रहसमेत गरे । उनले प्रक्रियाको थालनी गरेपनि सहमतिको संभावना पनि उत्तिकै रहेको बताए । अहिले मुलुक राजनीतिक संक्रमणकालमा रहेको बताउँदै महासचिव पोखरेलले यसको प्रत्यक्ष असर र पीडा मूलुकको राजनीति, अर्थतन्त्र, सामाजिक क्षेत्रलगायतमा परेको बताए ।
नेकपा एमाले प्रभावशाली नेता समेत रहेका महासचिव पोखरेलले प्रदेश निर्माण गर्दा जातिय पहिचानका आधारमा बनाईनुपर्नेमा एमालेको जोड रहेको बताए । समाजको समावेशी चरित्र झल्कने निर्वाचन प्रणाली हुनुपर्ने बताउँदै संघीयतामा देशको भौगोलिक अन्तर निर्भरतालाई ध्यानमा राखेर हिमाल, पहाड र तराईबीचको निर्भरतालाई विशेष ध्यान दिएर विभाजन गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय उपमहासचिव घनश्याम भुसाललगायतले सहजीकरण गरेका थिए । नेकपा एमालेका केन्द्रीय तथा स्थानीय नेता, कार्यकर्ताहरु एवं जिल्लामा क्रियाशिल पत्रकार, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलन एमाले प्रचार विभाग प्रमुख राजेन्द्र डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन प्रेस चौतारी स्याङ्जाका अध्यक्ष हिमलाल पराजुलीले थिए । यसैबीच शुक्रवार देखि नेकपा एमाले स्याङ्जाको आयोजनामा वालिङमा दुईदिने पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम पनि शुरु गरिएको छ ।
