रूद्र श्रीसमगर
मिछुर्लुङ (तनहुँ) २१ मा मौलिक कथा वस्तुमा आधारित मगर कथानक नेपाली चलचित्र ‘रैंया’को छायाङकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।
मगर जातिका महिलाहरूको मौलिक गहना ‘रैंया’को महत्वमाथि निर्माण गरिएको सो चलचित्रको अन्तिम छायाड्ढन तनहुँको मगर बस्ती मिछुर्लुङ गाउँमा भएको हो । सोही गाउँबाट छायाङकन सुरु गरिएको सो चलचित्र छायाङकनका लागि ६ महिना लागेको निर्देशक मेजन मगरले जानकारी दिए । निर्माणपक्षका अनुसार चलचित्रमा कौह्रा र सालैजोसहित चार वटा गीत समावेश गरिएको छ ।
‘मगर समुदायका महिलाहरूले हातमा लगाउने गहना ‘रैंया’ मगर परम्परा अनुसार आफ्ना छोरी चेलीलाई गुन्यू चोली दिँदा आमाले छोरीलाई ‘रैंया’ लगाइदिने प्रचलन छ’, निर्देशक मगरको भनाइ थियो, ‘रैंयाले आत्मरक्षाको काम पनि गर्ने भएकाले यस गहनाको विशेष महत्व छ ।’ मगर जातिको मौलिक कथामा आधारित नेपाली भाषाको चलचित्र ‘रैंया’का निर्माताहरू हर्क मगर, तारामाया मगर र मेजन मगर रहेका छन भने लेखन तथा निर्देशन मेजन मगर र कथा हर्क मगरको रहेको छ ।
चलचित्रमा अशोक मगर, प्रिया मगर, दुर्गा मगर र अनिता मगरको मुख्य भूमिका छ । पोखरा, धम्पुस र तनहुँको मिछुर्लुङमा छायाङकन गरिएको सो चलचित्र छिट्टै प्रदर्शनमा आउने निर्माता हर्क मगरले जानकारी दिए ।
