देब पचभैया
पाल्पा, माघ १५
जिल्ला विकास समिति पाल्पाका सव–ईन्जिनियर ईवराज घिमिरे सेवाग्राही संग घुस लिदा लिदै पक्राउ परेका छन् । उनलाई वुटवलको एक होटलबाट पक्राउ गरिएको हो ।
आज (बिहिबार) दिउसो रुपन्देहीको वुटवल उप महानगरपालिका, ट्राफिकचोक स्थित सुजाता होटल एण्ड लजमा सेवाग्राहीलाई बोलाएर ५० हजार रुपैयॉ घुस लिंदालिदै गर्दा घिमिरे पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वुटवलले जानकारी दिएको छ ।
घिमिरेको साथबाट ७० हजार बरामद भएको छ । सेवा ग्राहीको गुनासोको आधारमा अनुसन्धान गर्दा प्रमाण सहित उनी पक्राउ परेको र उनीमाथि विशेष अदालत काठमाडौमा मुद्दा दायर गरिने अख्तियारले जानकारी दिएको छ ।
घिमिरेले दोभान गाविसको वडा न ६ को गाविस भवन र ७ नम्बरको गणेशटोल जोड्ने झोलुङ्गे पुल मर्मतको उपभोक्ता समिति र ठेकेदारसंग रकम माग गरेको स्थानियले बताएका छन् । जिल्ला विकास समिति पाल्पामा दरबन्दी भई जिल्ला प्राविधिक कार्यालयमा घिमिरेले पुलको काम हेर्दै आएका छन् । उनले पछिल्लो समय दोभानको सय वर्ष पुरानो पुल हेर्नेसमेत जिम्मा समेत पाएका थिए ।
जिल्ला प्राविधिक कार्यालय पाल्पाका प्रमुख ईन्जिनियर भिमार्जुन पाण्डेयले अख्तियारले घिमिरेलाई पक्राउ गरेको पुष्टि गरेका छन । उपभोक्ता समितिका अध्यक्ष पति प्रसाद थापाले आफुले होमबहादुर नामको ठेकेदारलाई चेक काटेर दिएको जानकारी दिनुभएको छ ।
पाल्पा मदनपोखरा–८, का घिमिरे स्थानीय निकायबाट स्थायी हुदै जिविस पाल्पाका प्राविधिक कर्मचारी हुन् ।
