विनोद रखाली मगर / Laxmi Television
माघ ५, गल्याङ् – एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा-माओवादीसहितका दलहरुले सोमवार राजधानी लगायत देशैभर मशाल जुलुस प्रदर्शन गरेको छ ।
एकीकृत माओवादी सहितको ३० दलीय मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले संयुक्त रुपमा नेपाल बन्दको पूर्व सन्ध्यामा राजधानीका तीनवटै जिल्लामा छुट्टाछुट्टै मशाल जुलुस प्रदर्शन गरेका छन् ।
माघ ८ को संविधान निर्माण प्रक्रियालाई प्रभावित पार्न भन्दै संविधान भित्र र बाहिरका दलहरुले मंगलवार ६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।यता स्याङ्जाको गल्याङ्मा पनि मसाल जुलुस निकालेको छ । गल्याङ् चिन्नेपानी देखी सुरु भएको जुलुश गल्याङ्वजार परीक्रमा गरी चापाकोट चोकमा पुगी कोणसभामा परीणत भएको थियो । कोणसभामा राष्ट्रिय जनमुक्ति पार्टी स्याङ्जाका अध्यक्ष पदम गाहा मगर, नेपाल मगर संघ स्याङ्जाका सचिव लोकेन्द्र तरामु मगर लगाएतले सम्वोधन गरेका थिए ।
यस्तै, राजधानी लगायत देशैभरका जिल्लाहरुमा पनि बन्दको पूर्वसन्ध्यामा राँके जुलुस प्रदर्शन गरेको हाम्रा जिल्लास्थित संवाददाताहरुले जनाएका छन् ।
आन्दोलनकारीहरुबाट मशाल नबाल्दै प्रहरीले जफथ गर्दै:
यस्तै, रुपन्देहीको भैरहवामा पनि आन्दोलनकारी दलहरुले सोमवार साँझ मशाल जुलुस निकालेका छन् । आन्दोलनकारीहरुले भैरहवाको बुद्धचोकदेखि निकालेको जुलुस मीलनचोकमा पुगी कोणसभा गरेका थिए । आन्दोलनकारीहरुले गृहमन्त्री बामदेव गौतम तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
