रूद्र श्रीसमगर
पोखरा, १ माघ
कास्कीका पोखरा उप–महानगरपालिका तथा लेखनाथ नगरपालिकासहित विभिन्न भागमा बागलुङ जिल्लाबाट आइ स्थायी र अस्थायी रूपमा बसोबास गर्ने बागलुङे मगरहरूले बिहीबार सामूहिक रूपमा मगर–माघे सकराती पर्व मनाएका छन् ।
बागलुङे मगरहरूले पोखरा–२७, हेम्जास्थित रमणीय सुन्दरपुरीडाँडामा सामूहिक भोज तथा नाचगानका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी माघे संक्रान्ति पर्व मनाएका हुन् । माघे सकराती पर्व मनाउन भेला भएका बागलुङे मगरहरूले सास्कृतिक कुर्सी दौड प्रतियोगिता समेत सम्पन्न गरेका छन् । सो प्रतियोगितामा सोनी पुनमगर प्रथम र दलबहादुर थापामगर द्वितीय भइ नगद पुरस्कार हात पार्न सफल भए ।
कार्यक्रममा माघे संक्रान्तिको शुभकामना दिँदै बागलुङ–पोखरा मगर समाजका सल्लाहकार संयोजक भीमबहादुर श्रीसमगरले सबै मगरहरूलाई एकजुट बनाउने अभियानमा आफूहरू जुटिरहेको उल्लेख गरे ।
मगर जातिको राष्ट्रिय चाडका रूपमा सरकारले मान्यता दिएपनि सबै मगरहरूले एकै ठाउँ सामूहिक रूपमा मनाउन नसकेकोमा दुःख व्यक्त गर्दै श्रीसले आगामी वर्षदेखि पोखराका मगरहरूले एकै थलोमा माघे सकराती पर्व मनाउनुपर्नेमा जोड दिए । आफ्नो जातीय पहिचान र अधिकारका लागि एकजुट भएर संघर्षमा उत्रिनुपर्ने बेला आएको श्रीसको भनाइ थियो ।
समाजका सल्लाहकार एवं जिल्ला शिक्षा कार्यालय, बागलुङका स्रोत व्यक्ति ढकबहादुर पुनमगरले मगरहरू नाचगान र खानपानमा मात्र भुल्न नहुने भन्दै अन्य रचनात्मक एवं सिर्जनात्मक कार्यमा बढी जोड दिनुपर्ने बताए । मगर जातिको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै पुनले सबै मगरहरूलाई एकताबद्ध गराएर अघि लैजान समाजले प्रमुख भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।
मगर सङ्घ जापानका संस्थापक सचिव एवं आदिवासी जनजाति महासङ्घ जापानका पूर्व अध्यक्ष खिमबहादुर बुढामगरले मगर जातिका युवा पुस्तालाई सकारात्मक कार्यमा लगाउनुपर्ने आवश्यकता औंल्याउँदै युवा वर्गलाई समेट्ने खालका कार्यक्रम ल्याउन समाजलाई सुझाव दिए । मगर जातिको पहिचानको संरक्षण तथा अधिकार प्राप्तिका लागि सबै मगरहरूको ऐक्यबद्धता आवश्यक रहेको बुढाको भनाइ थियो ।
समाजका सल्लाहकार कृष्णाकुमारी श्रीसमगरले मगर जातिको मौलिक चाड पर्वलाई महŒवका साथ मनाउनुपर्ने भन्दै समाजले आफ्नो जातीय पहिचान जोगाउनका लागि अझै प्रभावकारी कार्यक्रमहरू ल्याउनुपर्ने बताए ।
सञ्चार केन्द्र, पोखराका सह–लेखापाल पदम थापामगरले मगर जातिले आफ्नो मौलिक पहिचान बोकेका चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण एवं विकासमा ध्यान दिनुपर्नेमा जोड दिँदै समाजले सामाजिक परिवर्तनका लागि खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।
समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष रामबहादुर पुनमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
