लाहुरे सपना पछ्याउँदै…

Read Time:8 Minute, 31 Second

मनोज घर्तीमगर

लाहुरे बन्न पहिलेजस्तो सजिलो छैन अहिले । न्यून सङ्ख्यामा लिने भएकाले कडा प्रतिस्पर्धा गर्नुपर्छ । भर्तीमा छानिने थोरै युवा लाहुरे भएँ भनेर उफ्रिँदै पोखराको ब्रिटिस क्याम्प पस्छन् । नछानिने हजारौँ युवा क्याम्पबाहिर निस्किएर छाती पिटीपिटी रुन्छन् र जीवन नै सकिएझैँ गरी ओइलाएर घर फर्कन्छन् । अनि फेरी लाहुरे बन्ने सपना पछ्याउँदै अर्को पटक छाति तन्काउँछन् । लाहुरे सपनालाई पछ्याउँदै हरेक वर्ष पूर्वदेखी पीश्चमका हजारौं युवा पोखरा आउँछन् । पोखरामा हरेक वर्ष ब्रिटिस आर्मीमा भर्ती खुल्छ । भारतीय सेनाका लागि कहिले छ÷छ महिना त कहिले चार/चार महिनामा पनि भर्ती खुल्छ । तीनमा भर्ती हुन लाम लाग्ने युवा दिनदिनै बढिरहेका छन् ।

पहिले एकै दिनमा हजार सोहर्ने, आज हजारौंबाट सय–सवासय छान्छ बेलायतले । त्यसैले यो छनोटमा अब्बल सबैले पनि आफूलाई अब्बल ठह¥याउन सक्दैनन् । असफल हुनेहरु भाग्यलाई दोष दिन्छन् र फेरि अर्काेपटक प्रयास गर्छन् । लाहुरे सपनालाई पछ्याउँदै पोखरा झरेका यस्तै युवा हुन्, लिम्घा–६ गुल्मीका १८ वर्षिय सिजन थापामगर । एसएलसी दिने बित्तिकै पोखरा बसेर भर्ती हुन प्रयास गरिरहेका उनी जसरी पनि लाहुरे बन्ने धुनमा छन् । पोखरामै बसेर लामो समय टे«निङ्ग इन्टिच्यूटमा बसेका उनी गतवर्ष पहिलो चरणमै फालिए । अघिल्लो पटकको असफलतालाई अनुभव ठानेका उनी यस पटक पनि पोखराको ब्रिटिस क्याम्प पुगे । यस वर्ष पनि उनी शारिरीक अभ्यासमा असफल भए । ‘दुई पटक असफल भए पनि मैले हिम्मत हारेको छैन’ सिजन भन्छन् ‘अर्को पटक जसरी पनि लाहुरे हुन्छु ।’ एसएलसीमा ७४ प्रतिशत ल्याएका सिजन अहिले व्यवस्थापन संकायबाट कक्षा १२ पढ्दैछन् । तर, पढाइभन्दा बढी ध्यान लाहुरेतिर छ ।

शिक्षित युवाहरु दैनिक बढिरहेका छन् । रोजगारका लागि विदेशीने युवाहरुको कमि छैन । रोजगारी खोज्दै भौतारिनेको जमात ठुलै छ । सिरानी मुनि सर्टिफिकेट राखेर चिन्ता गर्नेहरु त कति हो कति । यही बेरोजगारीलाई चिर्दै लाहुरे बन्न खोज्ने युवाहरुको भिड वर्षेनी बढ्दैछ । देशमा शैक्षिक योग्यता अनुसारको रोजगारी नपाएपछि खाडी मुलुक भासिनुभन्दा वैदेशिक सेनामा भर्ती हुनु कयौं गुणा राम्रो ठान्छन् स्याङ्जाका विमल गुरुङ । ‘देशमा भनेजस्तो काम पाइदैन अबर जानुभन्दा लाहुरे हुन प्रयास गर्ने हो’ मंसिर २८ देखी पुस ११ सम्म पोखरामा खुलेको भारतीय सेनामा भर्ती हुन आएका २० वर्षिय उनी भन्दै थिए,‘उमेरले साथ दिएसम्म भिड्ने हो, त्यसपछि जे त होला ।’

भर्ती भिड्नेमा धेरैजसो आदिवासी÷जनजाति समुदायका युवा छन् । उनीहरु पढाइ लथालिङग पारेर लाहुरे बन्न पटकपटक छाति तन्काउँछन् । उनीहरु लाहुरे बन्ने धोको राख्नुका पछाडी अनेकन प्रथा छन् । दशैको टीका लगायत धेरै अवसरहरुमा यी समुदायका युवालाई उनीहरुका मान्यजन र विशेष गरि उनका मामा, माईजुले आर्शिवाद दिँदै यो वर्ष पक्का “लाहुरे बनेस” भन्छनरे । त्यही भएर पटकपटक प्रयास गर्नेहरु थुप्रै छन् । जति असफल भए पनि पैंयुँथनथाप– २, बाग्लुङका दिपक थापाले लाहुरे भिड्न छाडेका छैनन् । उनी २०६९ भदौमा पहिलो पटक भर्ती हुन पोखराको ब्रिटिस क्याम्पमा पुगे । गत वर्ष असोज र चैतमा दुई पटक भारतीय सेनामा छाति नपाए । पोखराकै लोटस ट्रेनिङ इन्टिच्यूटमा तीन महिनासम्म तालिम गरेका उनी तीन पटक असफल भए । छनौट नहुँदाको पिडालाई अनुभवमा बदल्दै दिपक यो वर्ष पनि लाहुरे हुन छाति फुलाए । तैपनि सफल भएनन् । ‘नेपालमा जति पढे पनि जागिर पाइन्न, लाहुरे भए आफू लगायत घरपरिवारको भविश्य पनि सुरक्षित हुन्छ’ लाहुरे शैलीमा कपाल काटेका दिपक भन्छन्,‘अब उमेर धेरै छैन, एक दुई पटक देखाउने हो नभए विदेश जान्छु ।’

जनजातिलाई मात्रै प्राथमिकता दिइने विदेशी सेनामा केही वर्षदेखि सबै जातिलाई भर्ती लिन थालेपछि अन्य जातिको पनि लाहुरेतिर आकर्षण बढेको छ । प्रमाण हुन्, म्याग्दीका सरोज क्षेत्री । सरोजका छिमेकी लाहुरेहरुको शानदार जीवन देखेर हौसिएका हुन् । ‘गुरुङ, मगर साथीका बाआमाले विहानै उठेर दौडिन जा,सुतेर कहाँ लाहुरे बन्छस् भन्दै हौसला दिन्छन्’ पोखरा बसेर भर्तीको तयारी गरेका सरोज भन्छन्, ‘मलाई भने घरमा लाहुरेसाहुरे हुन पर्दैन खुरुखुरु पढ भन्दैथे, मेरो इच्छा लाहुरे बन्नु हो त्यही भएर नापिँदैछु ।’ पोहोर ब्रिटिस सेनामा देखिँदा नभएपछि उनी अहिले भारतीयमा भिडे । भर्ती लाग्न नसकेपछि उनी अर्को वर्षको तयारीमा छन् ।

वर्षैपिच्छे हजारौँले लाहुरे बन्ने रहर गरे पनि सबैको इच्छा पूरा हुँदैन । यी युवा केही प्रतिनिधी मात्रै हुन्, वर्षेली लाहुरे बन्न मरिहत्ते गर्ने हजारौं युवाहरु छन् । जो पटकपटक असफल भए पनि उमेरले साथ दिएसम्म भर्ती देखिन छाड्दैनन् । आखिर किन ? ‘लाहुरेको शानदार जीवन र पेन्सन आएपछि पाईने सुख विलासीताले गर्दा धेरै युवाहरुको मनमा लाहुरे मोह पलाएको हो’ भूपू बेलायती सेना नेम थापा भन्छन्,‘घरबाट हुने दबाब पनि मुल कारण हो । तर, पहिलेको जस्तो अहिले लाहुरे हुन सजिलो छैन । तैपनि पटकपटक भिड्ने युवा कम छैनन् ।’

बेलायती सेनामा नेपालीहरु सन् १८१५ देखि भर्ती हुन लाथेका हुन् । भारतीय सन् १९४७ मा भारत स्वतन्त्र भएयता नेपालीहरु भारतीय सेनामा पनि भर्ती हुन थालेका हुन् । यसअघि उनीहरु बेलायत शासित इष्ट इन्डिया कम्पनी सरकारमा भर्ती हुन्थे । यस्तै ९ अप्रिल १९४९ देखी सिंगापुर पुलिसमा समेत नेपालीहरु भर्ती हुन थालेका हुन् । ब्रिटिस आर्मी हुनासाथ उतैको नागरिका पाउने हुँदा धेरै त्यता आकर्षित भएका हुन् । सिंगापुर पुलिस र भारतीय सेनामा भर्ती लाग्ने युवाले पनि राम्रो सेवा सुविधाका साथै जीवन सुरक्षित हुँदा लाहुरे हुन तम्सिन्छन् । चहाने युवाहरुको पोखरामा ताँती लाग्छ । पटकपटक असफल भए पनि उनीहरु लाहुर सपना पछ्याउँन छाड्दैनन् ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %