दिपा आले
काठमाडौं, २५ पुस – पहिचानसहितको संघीय संविधान जारी गर, संघीयता विरोधीहरु होसियार, आदिवासी जनजातिसंग गरीएका सन्धि, सम्झौता कार्यान्वयन गर लगायतका नारासहित जनजातिहरुले शुक्रबार बृहत जनप्रदर्शन तथा धर्ना दिइएका छन् ।
संविधानसभा स्थित नयाँ बानेश्वरमा आयोजित बृहत प्रदर्शन तथा धर्ना कार्यक्रममा उपस्थित जनजाति अगुवाहरुले आदिवासी जनजातिको खोसिएको अधिकार प्राप्तिका लागि जनजातिहरु आन्दोलित भएको बताए । थारु, मगरात, तमूवान, ताम्सालिङ, नेवा लगायत दर्जनौ पहिचानवादी घटन संगठनको उपस्थितीमा आयोजित बृहत र्याली र प्रदर्शन पछि बृहत धर्नामा परिणत भएको थियो । कार्यक्रममा उपस्थित जनमासलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष्य नगेन्द्र कुमालले आदिवासी जनजातिको मागको संम्बोधन नयाँ बन्ने संविधानले गर्न नसके आन्दोललाई आँधिबेहरीको रुपमा चर्काउने बताए । ‘पहिचानसहितको संघीय संविधान नआए जनजातिलाई मान्य हुने छैन ।’ अध्यक्ष कुमालले भने, सिंहदबारभित्र बसेर हाम्रा अधिकार खोस्नेहरु, हाम्रा अधिकार कृण्ठित पार्नेहरु होसियार ।’
महासंघका महासचिव पेम्बा भोटेले अब बन्ने संविधानमा बुहभाषिक, बहुजातीय र बहुधार्मिक मुलुकमा आदिवासी जनजातिप्रति राज्यले गर्दै आएको विभेदको अन्त्य गरि सर्बमान्य संविधान जारी गरिनुपर्ने बताए । बृहत धर्नालाई सम्बोधन गर्दै पहरी समुदायका अध्यक्ष मुकुन्द पहरी, सुनुवार समाजका अध्यक्ष मनप्रसाद सुनुवार लगायत जातीय संघ, संगठनका अगुवाहरुले सम्बोधन गरेका थिए ।
धर्ना कार्यक्रममा आदिवासी जनजातिको पहिचान झल्कने सांस्कृतिक नाच र गीत समेत प्रस्तुत गरीएको थियो । राज्यपक्षबाट आदिवासी जनजातिसंग गरीएका सन्धि सम्झौता कार्यान्वयन गर, गणतन्त्र, धर्मनिरपेक्षता, सावेशीकरणलाई संस्थागत गर लगायतका माग सहित जनजाति महासंघद्वारा आयोजित बृहत धर्नामा महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी, पूर्व महासचिव आङकाजी शेर्पा, लगायतको उपस्थिती रहेको थियो ।
दिउँसो साढे १२ बजेबाट शुरु भएको कार्यक्रममा सैयौंको संख्यामा प्रदर्शनकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आदिबासी जनजाति विद्यार्थी महासंघ, नेपाल मगर विद्यार्थी संघ, तमु विद्यार्थी संघ, किरात विद्यार्थी संघ, थारु विद्यार्थी संघ लगायतको ठूलो उपस्थिति रहेको थियो ।
