दिपा आले
काठमाडौं, २३ पुस । संविधानसभाको समयतालिका नजिकिदैं जाँदा आदिवासी जनजाति आन्दोलन चर्कन थालेको छ ।
जातीय पहिचान सहितको संघीय नयाँ संविधानको माग गर्दै जनजाति आन्दोलन चर्कन लागेको हो । अब बन्ने नयाँ संविधानमा राज्यका हरेक अंङ्ग, निकाय र तहमा आदिवासी जनजातिको जातीय जनसंख्याको आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनपर्ने, भू–स्वामित्वमाथीको अधिकार आदिवासी जनजातिमा निहित हुनुपर्ने लगायतका माग सहित आदिवासी जनजाति आन्दोलन निरन्तर चलिरहेको छ ।
देशको सबैभन्दा धेरै हिस्सा ओगटेका आदिवासी जनजातिको प्रतिनिधित्व नै राज्यको हरेक अंङ्ग, तह र निकायमा हुन नसक्नु राज्य र प्रमुख राजनीतिक दलको असमावेशी चरित्रले भएको नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाललका प्रवक्ता प्राध्यापक डाक्टर ओम गुरुङले बताए । उनले भने, ‘नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हकअधिकार ग्यारेन्टी नभए जनजाति आन्दोलनले आँधिबेहरीको रुप लिनेछ ।’ अल्पसंख्यकहरुले बहुसंख्यकमाथी शासन गरीरहेको स्मरण गराउदैं बहुसंख्यक आदिवासी जनजातिले चाहेको पहिचान सहितको संघीय संविधानको विकल्प नरहेको नेकपा माओवादी बैद्य पक्षका संगठन सचिव देब गुरुङले बताए ।
त्यसैगरी अभियानमा संयुक्त मगर मञ्चका बम दलार्मीमगर, जेष्ठ नागरीकबाट चक्र पराजुली, एकिकृत नेकपा माओवादीका सभासद लक्ष्मी चौधरी, आचार्य र्नभु शेर्पा, जनमुक्ति पार्टीका सभासद शिबलाल थापामगर लगायतले अब बन्ने संविधानमा जातिय पहिचान सहितको संविधान बन्नु पर्नेमा आ – आफ्ना धारणा राखेका थिए ।
‘अकुपाइ बानेश्वर’ अभियानको दोस्रो दिन मगरात, तमूवान, शेर्पा स्वायत्त प्रदेश लेखिएको ब्यानरका साथमा जातीय पहिचान झल्कने सा“स्कृतिक नाच र गीत समेत प्रस्तुत गरीएको थियो । दोस्रो चरणको आन्दोलन चर्काइरहेका आदिवासी जनजातिहरुले आफ्नो माग र मुद्दाप्रति राज्य र प्रमुख राजनीतिक दलले गर्ने रेस्पोन्सका आधारमा अन्य आन्दोलनका कार्यक्रमहरु तय गरिने बताएको छ । आन्दोलनमा युवा देखि वृद्धवृद्धाहरुको उपस्थिति रहेको थियो ।
‘अकुपाई बानेश्वर’ पुस २४ गतेसम्म विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म प्रदर्शन गरिने बताइएको छ ।








