राज्य सत्ता
काठमाडौं, १३ पुस पोखराका पत्रकार एवं युवा गजलकार रूद्रबहादुर श्रीसले पाल्पाको ग्रामीण क्षेत्रमा स्थापित एक पुस्तकालयलाई आफ्नो पहिलो साहित्यिक कृति प्रदान गरेका छन ।
पाल्पाको फोक्सिङकोट–९, सुरुमडाँडास्थित महेन्द्र निम्न माध्यमिक विद्यालयमा समाजसेवी दुर्गा गुरुङ (मिलन)ले स्थापना गरेका मिलन पुस्तकालयलाई पत्रकार श्रीसले आफ्नो पहिलो साहित्यिक कृति गजल संग्रह ‘जिन्दगीका विरही भाकाहरू’ प्रदान गरेको हो ।
सो पुस्तकालयकी संस्थापिका देउकी सिंजाली (दिपिका)लाई शनिबार काठमाडौंमा पत्रकार श्रीसले आफ्नो पाँच प्रति सो गजल संग्रहको पुस्तक हस्तान्तरण गरे । सो अवसरमा पुस्तकालयकी संस्थापिका सिंजालीले पत्रकार श्रीसलाई धन्यवाद दिएका थिए ।
पत्रकारितामा विगत सात वर्षदेखि क्रियाशील पत्रकार श्रीस कास्की आवाज राष्ट्रिय दैनिकमा सह–सम्पादकका रूपमा विगत चार वर्षदेखि कार्यरत छन भने नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्की शाखाका उपाध्यक्ष, क्रान्तिकारी पत्रकार महासङ्घ कास्कीका सचिव, मगर आमसञ्चारकर्मी समाज, नेपालका केन्द्रीय सदस्य, नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्यलगायत थुप्रै साहित्यिक एवं सामाजिक सङ्घसंस्थामा समेत क्रियाशील रहेका छन । पत्रकार श्रीसले मगर भाषा तथा नेपाली भाषाको साहित्यमा कलम चलाउँदै आएका छन ।
