देब पचभैया
काठमाडौं, १२ पुस -तमू ल्होछारको अवसरमा तमू संचारकर्मी संघ नेपालको आयोजनामा तमू पत्रकारिता पुरस्कार वितरण गरिएको छ ।
श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गत वर्षदेखि ल्होछारकै अवसरमा प्रदान गर्दै आएको तमू पत्रकारिता पुरस्कारबाट यस वर्ष आठ जना सम्मानित भए ।
यस वर्ष पूर्वप्रधानसेनपाति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका समाचार सम्पादक गणेशमान गुरुङ तथा गैर जनजातिमा कान्तिपुर दैनिकका राजनीति ब्यूरो प्रमुख सरोजराज अधिकारी जनही १० हजार रुपैया“ तथा सम्मान पत्रद्वारा सम्मानित भएका छन् ।
यसैगरी सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कारबाट रेडियो गण्डकी कास्कीकी रोशनी तमू तथा कालिका एफएम चितवनकी कमला गुरुङ जनही पाच हजार रुपैंया र सम्मानपत्रबाट सम्मानितत भएका छन् । सीआइ टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट रेडियो देवदहका समाचार प्रमुख भिमप्रासद गुरुङ तथा नेपाल टेलिभिजनका समाचार सम्पादक बद्रीकाजी गुरुङ जनही पाच हजार एक रुपैंया र सम्मानपत्रबाट सम्मानित भए ।
यसैगरी लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट एबीसी टेलिभिजनका समाचार सम्पादक मनीराज गुरुङ १० हजार एक रुपैंया तथा सम्मानपत्रद्वारा सम्मानित भएका छन् । र आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट १० हजार एक रुपैंया र सम्मानपत्रसहित गोरखापत्र दैनिकका तमू भाषा सहसंयोजक रवन तमू सम्मानित भएका छन् ।
पुरस्कार श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङले प्रदान गरेका थिए । पुरस्कार वितरणसंगै तमू संचारर्कीले प्रकाशन गर्ने वर्ष पुस्तक (गुरुङन्यूज डटकम) को सामुहिक रुपमा लोकार्पण गरियो । गुरुङन्युज डटकममा वितेको एक वर्षमा तमू समुदायका ब्यक्तित्वहरुले हात पारेको सफलता र उन्नतिलाइ विशेष जोड दिइएको छ । ल्होछारको अवसरमा पुस ७ गतेबाट नै विभिन्न कार्यक्रम गरी ल्होछार मनाउने क्रम शुरु भइसकेको छ ।
तमू बौद्ध सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा सभासद् डाक्टर गणेशमान गुरुङ, प्रधानसेनापति छत्रमानसिंह गुरुङ, प्रमुख अतिथीहरु, गुरुङ पर्यटन ब्यवसायी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । यस वर्षको ल्होछारमा त ल्हो (घोडा वर्ग) को विदाई तथा ल्हु ल्हो (भेडा बर्ग) को स्वागत गरिदैछ ।
‘तमूवान प्रदेश सहितको समावेशी संघीय संविधान’ भन्ने मूल नाराका साथ यस वर्ष ल्होछार मनाउन लागीएको हो ।
