देव पचभैया
पाल्पा, पुस ७ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सरकार र दलहरु माघ ८ गतेभित्र संविधान जारी गर्न प्रतिबद्ध रहेको बताएका छन । गौतमले माघ ८ मा संविधान जारी गर्ने काम कुनै दल विशेषको मात्र नभएर सबै दल र सरकारको पनि प्राथमिकता भएकाले तोकिएकै मितिमा संघीय लोकतान्त्रिक संविधान जारी हुने बताए ।
पाल्पाको पूर्वी भेगमा रहेको रामपुर बचत तथा सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभाको सोमबार उद्घाटन कार्यक्रममा गृहमन्त्री गौतलमे समयमै जारी गर्न नचाहने तत्व अराजक भएको आरोप लगाएका छन । गौतमले माघ ८ भित्र संविधान जारी नभए देश भिकारी बन्ने र देशमा अशान्ति मच्चिने भएकाले तोकिएकै मितिमा संविधान जारी गर्नुपर्नेमा जोड दिए । सरकार र दलहरु नियमावली बनाएर संविधान जारी गर्न अघि बढेको उल्लेख गर्दै मन्त्री गौतमले तोकिएको मितिभन्दा पछि हट्न नसकिने बताए ।
संविधान जारी भएपछि एकात्मक शासन अन्त्य भएर संघात्मक शासन लागु हुने र केन्द्रीकृत राज्य व्यवस्थालाई विकेन्द्रीकृत शासनमा रुपान्तरण हुने मन्त्री गौतमले बताए । संघीय लोकतान्त्रिक संविधान जारी भए पछि सबै नेपालीले विकास र शान्तिको महशुस गर्न पाउने दावीसमेत गरेका थिए ।
गौतमले आधुनिक नेपाल निर्माणका लागि सहकारी आन्दोलनलाई मजबुत बनाउनुपर्ने र सरकारले त्यसलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता जनाए । ग्रामीण जनताको विकास र उन्नतिका लागि सहकारीको विकल्प छैन गौतमले भने सहकारीको विकासले मात्र नेपालको गरिबी निवारण हुन्छ ।
गौतमले सरकारले खारेज गरिसकेको यातायात सिण्डिकेटले जनताले सास्ती भोग्नुपरेको बताउँदै सरकारले त्यसलाई मान्यता नदिने बताएका छन । कानुन् र ऐनले खारेज गरिसकेको सिण्डिकेट प्रणालीलाई कसैले कार्यान्वयन गर्छ भने उनीहरुलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता मन्त्री गौतमले जनाए । सिण्डिकेट गैरकानुनी कार्य हो, सरकारले खारेज गरिसकेको छ गौतमले भने, त्यसलाई सरकारले कडाईका साथ कार्यान्वयन गर्छ । मन्त्री गौतमले कही कतै लुकेरछिपेर सिण्डिकेट कार्यान्वयन गरे त्यस्तालाई छोपेर थुन्न प्रहरीलाई आदेश गरिसकेको उल्लेख गरे ।
मन्त्री गौतमले रामपुरबासीले माग गरेको इलाका प्रशासन कार्यालय र एकीकृत सेवा केन्द्र गर्न सरकारले गृहकार्य सुरु गरेको जानकारी दिए । गौतमले सेवाकेन्द्र संचालन गर्न सैद्धान्तिक सहमति भईसकेको बताउँदै पुस महिनाभित्र कार्यालय स्थापना गर्न सरकार लागेको उल्लेख गरे ।
माघ ८ मै संविधान जारी हुन्छः गृहमन्त्री गौतम
Read Time:3 Minute, 51 Second
