रूद्र श्रीसमगर
पोखरा, ५ पुस
नेकपा–माओवादीनिकट महिला स·ठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्की क्षेत्र नं. ३ को भेला सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न भेलाले लक्ष्मी अधिकारीको संयोजकत्वमा अनेमसंघ (क्रान्तिकारी) क्षेत्रीय भेला आयोजक समिति गठन गरेको छ । भेलाले छिट्टै नै सम्मेलन गर्ने गरी तयारी अघि बढाउने निर्णय
गरेको छ ।
सो भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा–माओवादीका वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’ले पछिल्लो पटक नेकपा–माओवादीमा भएको फुटबाट कोही कसैले आत्तिनु नपर्ने दाबी गरेका थिए ।
कार्यकर्तालाई नयाँ उत्साह र जोश जाँगरका साथ पार्टीको काममा लाग्न निर्देशन दिँदै नेता अजितले महिला मुक्तिका लागि सम्पूर्ण उत्पीडित महिलाहरू एकजुट हुनुपर्ने बताए । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अभिभारा आफूहरूकै रहेको दाबी गर्दै नेता अजितले नेकपा–माओवादी नै देशको सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी भएको जिकिर गरे ।
सो भेलामा नेकपा–माओवादी कास्की क्षेत्र नं. ४ का सूर्य खड्का ‘आलोक’, क्षेत्र नं. ३ का संयोजक राजकुमार सुवेदी ‘राजन’ र अनेमसङ्घ (क्रान्तिकारी)का तमुवान राज्य संयोजक रेणु थापाले पनि बोलेका थिए ।
