देब पचभैया
पाल्पा, पौष ५ गते
बिधालयको पढाई नै प्रभाबित हुने गरी पश्चिमाञ्चल क्षेत्रको मनाङ बाहेक १५ जिल्ला बाट ४ सय २२ जना शिक्षकले राजीनामा दिएका छन् ।
अख्तियारको निर्देशन पछि जिल्ला शिक्षा कार्यालयहरुले शिक्षकका मार्कसिटहरुको खोजबिन थालेपछि दशै तिहार पछि मात्रै यति धेरै शिक्षकहरुले राजीनामा बुझाएका हुन् ।
पश्चिमाञ्चल क्षेत्रको पहाडी जिल्ला पाल्पामा सबै भन्दा धेरै ७० जनाले राजीनामा दिएका छन् भने सबै भन्दा थोरै मुस्ताङ्गमा २ जना शिक्षकले राजीनामा दिएका छन् ।
जम्मा १९६ जना शिक्षक रहेको मनाङ्मा दशै तिहार पछि कुनै पनि शिक्षकले राजीनामा दिएका छैनन् । यहाका शिक्षकहरु त सबै सक्कली मात्रै रहेछन् क्यार, मनाङ्का सहायक जिल्ला शिक्षा अधिकारी तिलक परियार भन्छन् “सर्टिफिकेट मनाउने क्रम जारी छ, त्यसपछि पनि अहिले सम्म शिक्षकको राजीनामा आएको छैन । ”
राजीनामा दिने अधिकांश शिक्षकहरु २०४८ सालमा स्थाई भएकाहरु छन् । जुन बेला कृष्ण प्रसाद भट्राईको पालामा एक बर्ष पढाएका अस्थाई शिक्षकलाई स्वतः स्थाई हुने अवसर प्रदान गरिएको थियो ।
जिल्ला शिक्षा कार्यालयहरुले नक्कली सर्टिफिकेटको खोजबिनले गर्दा शिक्षकहरुले राजीनामा नदिएको बताएका भए पनि बिगतका बर्षहरुमा भन्दा यस पटक ह्वात्तै राजीनामा आएको बताएका छन् ।
असोज पछि तनहुमा ५४ जना शिक्षकले राजीनामा बुझाएका छन् । नियमित राजीनामा भन्दा अलि बढेको छ, सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्य भन्नुहुन्छ छानबिनले गर्दा धेरैको राजीनामा आएको साचो भएपनि सबै नक्कली सर्टिफिकेट होईनन् । २१ जना शिक्षकले राजीनामा दिएको रुपन्देहीमा सर्टिफिकेट मागेपछि १६ जनाको राजीनामा आएको शिक्षा कार्यालयले जानकारी दिएको छ ।
१४ जना राजीनामा दिएका मध्ये पर्बतमा २ जना शिक्षकको भातरीय प्रमाण पत्र भएको र त्यसको छानबिन भैरहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
बाग्लुङ्गमा २५, गुल्मीमा १६, कास्कीमा ५३, नवलपरासीमा ४२, कपिलबस्तुमा ३, स्याङ्गजामा २१, लमजुङ्गमा २६, गोर्खामा ४३, अर्घाखाचीमा १९ र म्याग्दीमा १३ जना शिक्षकले राजीनामा दिएका छन् । सामान्य तया दशै तिहारको बिदा र भत्ताको सुबिधा लिएर राजीनामा दिने शिक्षकहरुको संख्या भएको अधिकांश जिल्ला शिक्षा कार्यालयहरुले दाबी गरेका छन् । राजीनामा दिनेहरुका बिधालयका प्रअ समेत छन् । उनीहरुको नक्कली सर्टिफिकेट भन्दा पनि आफ्ना कार्यकालमा गलत काम गरेको हुनाले धमाधम राजीनामा बुझाएको हुन सक्ने अनुमान गरिएको छ ।
