रूद्र श्रीसमगर
पोखरा, ४ पुस
स्नानकक्षमा नुहाउन जाँदा लडेर घाइते भएका बागलुङ जिल्ला देविस्थान–५ निवासी झैनासिंह सिंजालीका छोरा ३९ वर्षीय शेरबहादुर सिंजालीले आफ्नो उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरेका छन ।
हाल पोखरा–३, नदीपुरमा डेरा गरी बस्दै आएका सिंजालीको दुई महिनाअघि स्नानकक्षमा नुहाउन जाँदा लडेर कम्मरदेखि तल्लो भाग नचल्ने भएको छ । ज्याला मजदुरी गर्दै आएका सिंजालीको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना भएको भएपनि चिकित्सकहरूले पोखरामा उपचार सम्भव नभएको र काठमाडौंस्थित शिक्षण अस्पतालमा ढाडको नशाको शल्यक्रिया गर्न सुझाएका छन् ।
चिकित्सकहरूका अनुसार सिंजालीको उपचारका लागि दुई लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने र सो खर्च जुटाउन नसक्ने अवस्था भएकाले उपचारमा सहयोग गर्न सिंजालीले सबैसमक्ष आग्रह गरेका छन । सिंजालीकी श्रीमती पनि बिरामी भइ कुनै काम गर्न नसक्ने अवस्थामा छिन भने ६ वर्षका छोरा बालमन्दिर उच्च मावि, नदीपुरमा युकेजीमा र ९ वर्षकी छोरी कन्या मावि, नदीपुरमा कक्षा ४ मा अध्ययन गर्दै छन् ।
सिंजालीको उपचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावहरूले ओम फाइनान्स, पोखरा शाखाको खाता नं. ००६००००१५७०एफ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ भने ९८४६७६७७५५ र ९८४७७६२६४४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
