मनोज घर्ती मगर
रुकुम, ४ पुस
वाँफिकोट–बडगाउँ ५ रुकुमस्थित बालविकास प्रस्तावित निम्न माध्यामिक विद्यायलयले कम्प्युटर लगायतका सामाग्री सहयोग पाएको छ ।
पत्रकार तथा ‘भर्तीको फन्दा’ किताबका लेखक मनोज घर्तीमगरको पहलमा विद्यालयले तीन थान कम्प्युटर, एक थान प्रिन्टर लगायत गरि एक लाख पाँच हजार बराबरका सामाग्री सहयोग पाएको हो । ती सामाग्री लेखक घर्तीमगरले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनु शाहि र प्राधानअध्यापक कर्णबहादुर चन्दलाई हस्तान्तरण गरेका थिए ।
भूपू विद्यार्थीका हैसियतले पत्रकार घर्तीमगले फेसबुकमार्फत विद्यालयका लागि कम्प्युटर खरिद गर्न सहयोग अपिल गर्नुका साथै पछि देशविदेशका नेपालीबाट १७ हजार रुपैंया संकलन भएको थियो ।
यस्तै आफ्नो किताब ‘भर्तीको फन्दा’ विमोचन गर्न हङकङ पुगेका बेला उनले त्यहाँ बसोबास गर्दै आएका नेपालीसँग तीन हजार सात सय हङकङ डलर सहयोग लिएर आफू पढेको विद्यालयलाई कम्प्युटर जुटाइदिएका हुन् ।
‘विद्यालयमा कक्षा ७ र ८ मा कम्प्युटर विषय पढाइ हुने भए पनि प्रयोयात्मक पढाइका लागि कम्प्युटर नभएको सुने’ लेखक घर्तीमगरले भने,‘त्यसपछि आफू पढेको विद्यालयलाई सहयोग गर्न जुटेको हुँ । सानै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’
सहयोग अभियानको अगुवाइ गरेका लेखक मनोज घर्तीमगरले आफू प्रतिनिधी मात्रै भएको र यो सहयोग देश विदेशमा रहेका थुप्रै मनकारीले गरेको भन्दै सहयोगीदातालाई धन्यवाद दिए ।
विद्यालयका प्रधानअध्यापक कर्णबहादुर चन्दले यो सहयोगले विद्यार्थीलाई कम्प्युटर विषय अध्ययन गर्न ठूलो मद्दत पुग्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनु शाहिले भूपू विद्यार्थी मनोजले गरेको सहयोग अविस्मरणीय भएको बताए ।
त्यस अवसरमा अवसरमा विद्यालयलाई सहयोग गरेको भन्दै लेखक तथा पत्रकार मनोज घर्तीमगरलाई विद्यालयले एक कार्यक्रम गरि दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरेको थियो । आफू जन्मेको गाउँको विद्यालयलाई सहयोग गरेको भन्दै स्थानीय बाल जागरण बाल क्लबलका तर्फबाट अध्यक्ष अनिल घर्तीमगरले कदर पत्र प्रदान गरि सम्मान गरेको थिए ।
कम्प्युटर खरिद गर्न नेपाली सेनाका मेजर शिव पौडेल दुई हजार पाँच सय, युकेबाट विरप्रसाद घर्तीमगरले पाँच हजार, दुबईबाट साहित्यकार, पल्ली मगरले एक हजार पाँच सय, नेपाल क्लब हङकङका अध्यक्ष रीता गुरुङले एक थान कम्प्युटर, ‘भर्तीको फन्दा’ किताबका लेखक मनोज घर्तीमगरले किताब बिक्रिबाट आएको रकमबाट २२ हजार, पोखराको बाहाही होटलका संचालक बिप्लप पौडेलले पाँच हजार, ¥याण्डम रिडर्स सोसाइटि नेपालका अध्यक्ष–गनेस पौडेलले पाँच हजार सहयोग गरेका थिए ।
यस्तै लेखक घर्तीमगरको किताब ‘भर्तीको फन्दा’ विमोचन गर्न हङकङ गएका बेला त्यहाँ बसोबास गर्ने नेपालीले पनि सहयोग गरेका थिए । तिमध्ये लक्ष्मी गुरुङले हङकङ डलर पाँच सय, भारतीय भूपू गोर्खा सैनिक संघ, हङकङका अध्यक्ष जजिन चाम्लीङले पाँच सय, भारतीय भूपू गोर्खा सैनिक संघ, हङकङका कोषाध्यक्ष कृष्णप्रसाद गुरुङले पाँच सय, घलेक फिल्मकी नायिका माया गुरुङले पाँच सय, हङकङ नेपाली महिला संघका अध्यक्ष एवं समाजसेवी टिका गुरुङले एक हजार, मेख रानामगरले पाँच सय, तिलक सोमै मगरले पाँच सय हङकङ डलर र राज्यसत्ता डटकमका संचालक, मगर संघ हङकङका भूपू अध्यक्ष एवं समाजसेवी हुमबहादुर थापामगरले दुई हजार पाँच सय सहयोग गरेका थिए ।
