रूद्र श्रीसमगर
पोखरा, ३ पुस
नेकपा–माओवादी कास्कीले निर्वाचन क्षेत्र नं. २ र ३ को क्षेत्रीय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
जस अन्तर्गत निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय प्रशिक्षण भेला बुधबार सम्पन्न भएको छ । भेलाले क्षेत्र नं. ३ का संयोजक राजकुमार सुवेदी ‘राजन’को संयोजकत्वमा १९ सदस्यीय क्षेत्रीय भेला आयोजक समिति गठन गरेको छ ।
सो भेलाका प्रमुख अतिथि नेकपा–माओवादीका वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’ले प्रशिक्षणमूलक मन्तव्य दिँदै नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा भएको पार्टी विभाजनलाई अराजनैतिक फुटको संज्ञा दिएका थिए ।
फुटले आफ्नो पार्टीलाई कुनै असर नगरेको दाबी गर्दै नेता अजितले पार्टी अझ एकढिक्का भएर अघि बढ्ने जिकिर गरे । साथै, नेता अजितले व्यक्तिवादी अराजकतावादकाविरुद्ध एकढिक्का र उत्साहित भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।
भेलामा विशेष अतिथि पार्टीका केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले प्रशिक्षणमूलक भनाइ राखेका थिए भने क्षेत्र नं. २ का संयोजक अर्जुन छन्त्यालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्षेत्र नं. ३ का संयोजक राजकुमार सुवेदी ‘राजन’को अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन राष्ट्रिय युवा जनस्वयंसेवक क्षेत्र नं. ३ का संयोजक नवीन गुरुङले गरेका थिए भने जिल्ला सम्मेलन आयोजक समिति सदस्य दिलीपकुमार सुनारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच, मातृका यादव नेतृत्वको नेकपा (माओवादी)निकट विद्यार्थी सगठन क्रान्तिकारी विद्यार्थी सगठनका केन्द्रीय सदस्य रविकिनारा लामिछाने नेकपा–माओवादीमा प्रवेश गरेका छन ।
बिहीबार आयोजित नेकपा–माओवादी कास्की क्षेत्र नं. २ को क्षेत्रीय प्रशिक्षण भेलाका अवसरमा लामिछानेलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा–माओवादीका वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’ले अबिर लगाएर पार्टी प्रवेश गराएका हुन ।
सो क्षेत्रीय प्रशिक्षण भेलाले क्षेत्र नं. २ का संयोजक अर्जुन छन्त्यालको संयोजकत्वमा १५ सदस्यीय क्षेत्रीय भेला आयोजक समिति गठन गरेको छ ।
समितिका सदस्यहरूमा सन्देश, हेमन्त, रोहाङ, मंगल, मनबहादुर थापामगर, टेकबहादुर गुरुङ, दुर्गाकुमारी कुँवर, राजकुमार बुढामगर, धिरबहादुर गुरुङ, नारायण चापागाईँ, बेनीबहादुर तामाङलगायत रहेका छन ।
सो अवसरमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’ र केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले प्रशिक्षणमूलक भनाइ राखेका थिए भने क्षेत्र नं. ३ का संयोजक राजकुमार सुवेदी ‘राजन’ र क्षेत्र नं. ४ का संयोजक एवं राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीका संयोजक सूर्य खड्का ‘आलोक’ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्षेत्र नं. २ का संयोजक अर्जुन छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन जिल्ला सम्मेलन आयोजक समितिका सदस्य रोहाङले गरेका थिए भने राष्ट्रिय युवा जनस्वयंसेवक क्षेत्र नं. २ का संयोजक सन्देश गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
