विप्लवको क्रान्ति सत्ताको बार्गेनिङः देव गुरुङ

Read Time:3 Minute, 10 Second

रूद्र श्रीसमगर

पोखरा, २४ मंसिर

नेकपा–माओवादीका सचिव देव गुरुङले आफूबाट विभाजित भइ नयाँ पार्टी गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ले गर्ने भनेको क्रान्ति सत्ताको बार्गेनिङ भएको आरोप लगाएका छन ।

नेकपा–माओवादी कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटका अवसरमा बोल्दै सचिव गुरुङले संसदवादीहरूसँग सत्ता साझेदारीको कुरा गरेर विप्लवले सत्तामा जाने दाउ मात्रै रचेको टिप्पणी गरेका थिए ।

‘विप्लवजीले राष्ट्रिय स्वाधीनताको बाटो छोडेर गल्ती गर्नुभएको छ’ गुरुङको भनाइ थियो, ‘पुनर्विचार गरेर आए हामी पुनः स्वागत गर्न तयार छौं ।’ संसदीय मार्गले आत्मसमर्पणको दिशामा लैजाने भन्दै गुरुङले राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी क्रान्तिको बाटो नै क्रान्तिकारीहरूको रोजाइ हुनुपर्ने उल्लेख गरेका थिए ।

‘विप्लवजीको क्रान्ति सत्ताका लागि बार्गेनिङ मात्रै हो’, सचिव गुरुङले भने, केही पटका पट्काएर, डाङडुङ पारेर सत्तामा जाने दाउ छ, उहाँको । प्रचण्ड–बाबुराम र विप्लवको लक्ष्य एउटै रहेको भन्दै प्रकारान्तरले विप्लव बाबुरामको लाइनमा गएको ठोकुवा गरे । केही डाङडुङ पारेपछि सरकारले वार्ताका लागि बोलाइहाल्छ, अहिले चुनावबाट सत्तामा जानसक्ने स्थिति पनि छैन, प्रकारान्तरले भने, ‘वार्तामार्फत् सत्तामा जाने उहाँको दाउ हो, जुन उहाँको सत्ता साझेदारीको कुराले छर्लंग गरेको छ ।’

अधिकार सम्पन्न सर्वपक्षीय गोलमेच सभामार्फत् राजनीतिक निकास खोजिनुपर्नेमा आफ्नो पार्टी अडिग रहेको भन्दै गुरुङले संविधानसभा–२ को विघटन गरी राष्ट्रिय सहमति खोजिनुपर्नेमा जोड दिए । देश संकटमा परेको भन्दै देश बचाउने र नबचाउने भन्ने कम्युनिष्टहरूकै हातमा रहेको गुरुङको भनाइ थियो ।

सो अवसरमा नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य इन्द्रमोहन सिग्देल ‘वसन्त’, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’लगायतको उपस्थिति रहेको थियो भने वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’ले पनि बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %