आदिवासी जनजातिलाई पहिचान, पहुँच र प्रतिनिधित्व चाहिएको छः थापा
रूद्र श्रीसमगर
पोखरा, १९ मंसिर
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको आर्थिक सहयोग र मगर भाषा प्रतिष्ठान कास्की शाखाको आयोजनामा आदिवासी जनजातिहरूका लागि निःशुल्क लोकसेवा आयोग नायब सुब्बा कक्षाको उद्घाटन गरिएको छ ।
शुक्रबार नेपाल मगर संघ कास्कीको सभाहलमा सो कक्षाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगरले आदिवासी जनजातिले राज्यमा पहिचान, पहुँच र प्रतिनिधित्व खोजेको बताए ।
‘आदिवासी जनजातिले तीन वटा कुरा खोजेका छन्’, उपाध्यक्ष थापाको भनाइ थियो, ‘आदिवासी जनजातिलाई पहिचान, पहुँच र प्रतिनिधित्व चाहिएको छ ।’ आदिवासी जनजातिहरूलाई निजामती सेवामा आकर्षित गर्नका लागि यस्तो कार्यक्रम ल्याइएको जनाउँदै थापाले सरकारी बजेटको सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
‘आदिवासी जनजातिहरूलाई निजामती सेवामा आकर्षित गर्न हामीले यो नयाँ कार्यक्रम ल्याएका हौं’, थापाले भने, ‘काठमाडौंमा हामीले नायब सुब्बा र शाखा अधिकृतको कक्षा सम्पन्न गरिसकेका छौं, यसपाली देखि हामीले पाँच वटै विकास क्षेत्रमा नायब सुब्बाको कक्षा सञ्चालन गर्दैछौं ।’ आदिवासी जनजातिहरूले राज्यका हरेक निकायमा आफ्नो प्रतिनिधित्व जनाउन नसकेसम्म आदिवासी जनजातिहरूको अवस्थामा सुधार नआउने भन्दै उहाँले नायब सुब्बा तयारी कक्षालाई उपलब्धिमूलक बनाउन सबै खट्नुपर्नेमा जोड दिए ।
जिल्ला विकास समिति, कास्कीका जिल्ला शासन विज्ञ कृष्ण अवस्थीले मगर भाषा प्रतिष्ठान, कास्कीले नायब सुब्बा तयारी कक्षा सञ्चालन गर्नु सराहनीय कार्य भएको बताउँदै सरकारले पछि पारिएका विभिन्न वर्गका लागि सहयोग गर्दै आएको बताए ।
जिल्ला महिला तथा बालबालिका कार्यालय, कास्कीका प्रमुख बेलकुमारी गुरुङले आदिवासी जनजातिहरूले लोकसेवामा नाम निकाल्न सक्दैनन् भन्ने मान्यता तोडेर अघि बढ्नुपर्ने बताउँदै आवश्यक तयारीका साथ परीक्षा दिए लोकसेवा परीक्षामा नाम निकाल्न कुनै गाह्रो नहुने उल्लेख गरेकी थिइन ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य–सचिव एवं मगर भाषा प्रतिष्ठान, नेपालका अध्यक्ष लोकबहादुर थापामगरले जहाँ इच्छा त्यहाँ उपाय भनेझैं लोकसेवा तयारी गर्न चाहने आदिवासी जनजातिहरूका लागि तयारी कक्षा एउटा राम्रो अवसर भएको बताए ।
धेरै भन्दा धेरै आदिवासी जनजाति उम्मेदवारहरूलाई लोकसेवा परीक्षामा उत्तीर्ण गराउने उद्देश्यले तयारी कक्षा सञ्चालन गर्न लागिएको जनाउँदै थापाले सबै अवस्थाका आदिवासी जनजातिलाई सहज हुने किसिमले सरकारको नीति अनुसार निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको बताए ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्तीले आदिवासी जनजातिहरूका लागि यो कार्यक्रम नयाँ भएको उल्लेख गर्दै राज्यका हरेक निकायमा आदिवासी जनजातिहरूको पहुँच र प्रतिनिधित्व पु¥याउन तयारी कक्षा सञ्चालनले सघाउ पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
तयारी कक्षाको उद्घाटन कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ कास्कीका अध्यक्ष राजकुमारी भुजेल र नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले पनि बोलेका थिए भने मगर भाषा प्रतिष्ठान, कास्की शाखाका कार्यसमिति सदस्य यामबहादुर बरहीमगरले कक्षा सञ्चालनको आवश्यकता र महत्वमाथि प्रकाश पारेका थिए ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगरले गरेका थिए भने उपाध्यक्ष रूद्रबहादुर हितानमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
आयोजकका अनुसार यही मंसिर २४ गतेदेखि सुरु हुने लोकसेवा नायब सुब्बा तयारी कक्षा पञ्चकोशी आर्थरडाँडाखर्क समाज भवनमा सञ्चालन हुनेछ ।
