लुम्बिनी राज्य परिषदको विस्तारित बैठक सम्पन्न ।
देब पचभैया
बुटवल, मंशिर १९ – आज राष्ट्रिय जनमुक्ति पार्टी, लुम्बिनी राज्य परिषदको विस्तारित बैठक बुटवलमा बस्यो ।
अध्यक्ष नगेन्द्र रौतार थारुको अध्यक्षता एवं पार्टी महासचिव केशव सूयृवंशीको प्रमुख आतिथ्यतामा बसेको सो विस्तारित बैठकले लुम्बिनी राज्य परिषदको आयोजनामा मंसिर १२ गते बुटवलमा आयोजना गरेको ‘जनप्रदर्शन तथा खबरदारी सभा’को समिक्षा गर्नुका साथै माघ ८ गते सहमतीय संविधान जारी गराउन र लुम्बिनी प्रदेशको सुनिश्चित्ताका लागि दवाबमूलक खबरदारी अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ ।
आगामी पुष २० गते सम्मका लागि लुम्बिनी प्रदेश स्तरमा चलाईने खबरदारी अभियान अन्तर्गत सर्वपक्षीय अन्तर सम्वाद, प्रशिक्षक–प्रशिक्षण, गाउँ, नगर तथा जिल्ला स्तरीय जनप्रदर्शन, भ्रष्टाचार सम्बन्धी जनसर्वेक्षण लगायतका कार्यक्रम पारित गरिएका छन् । बैठकले बसन्त सिंजालीलाई श्रव्यदृश्य संयोजक र शंकर गाहालाई स्वयम्सेवक परिचालन शाखा संयोजकको जिम्मेवारी तोकिएको छ ।
साथै खबरदारी अभियानको क्रममा पूर्व (धरान) मा आइपुग्दा पार्टी केन्द्रीय अध्यक्ष श्री एम.एस.थापा अचानक अस्वस्थ हुनु भएको र हाल काठमाडौंमा उपचारत रहनु भएकोमा विस्तारित बैठकले शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी, लुम्बिनी राज्य परिषदको विस्तारित बैठकमा पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख टोप अस्लामी, स्थायी समिति सदस्य एवं राष्ट्रिय दलित मोर्चाका केन्द्रीय अध्यक्ष रामु परियार, संघीय परिषद सदस्य एवं राष्ट्रिय जनमुक्ति पार्टी, लुम्बिनी राज्य परिषदका ईञ्चार्ज अशोक पुन, संघीय परिषद सदस्य एवं केन्द्रीय सम्पर्क कार्यालयका इञ्चार्ज दलबहादुर वीरकट्टा, संघीय परिषद् सदस्यहरु हाजी डा.मोहम्मद हसन, होमाया गुरुङ्गको समेत सहभागिता रहेको थियो ।
