रूद्र श्रीसमगर
पोखरा, १७ मंसिर
कास्की प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुई जना सर्लाही, शासापुर–५ का २७ वर्षीय केशरसिंह हेमजन तथा कास्की, दाङसिङ–२, वीरेठाँटीका २९ वर्षीय कमल गुरुङलाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बुधबार जिप्रका कास्कीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको थियो । दुवै जनाले अवैध हातहतियार रिभल्वर समेतको खरिद बिक्री तथा ओसारप्रसार गर्छन् भन्ने अञ्चल प्रहरी कार्यालय, गण्डकीको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हेमजन र गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङको साथबाट कालो झोलाभित्र लुकाइ राखेको मेड इन इ·ल्याण्ड लेखेको रिभल्वर एक थान, रिभल्वरको गोली दुई थान, कलर्स मोबाइल एक थान र हेमजनको साथबाट सामसुङ मोबाइल दुई थान समेत प्रहरीले बरामद गरेको छ । दुवैजनालाई शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पोखरा–५, पस्र्याङचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
