देब पचभैया
पाल्पा, मंशिर १६ – गत वर्षको तुलनामा पाल्पा जिल्लामा यो वर्षको धान उत्पादन पाँच प्रतिशतले बढेको छ । धान खेतीका लागि आवश्यक मात्रामा पानी, मल तथा उन्नत जातको बिउको उपलब्धताले पाल्पामा यो वर्ष धानको उत्पादन बढेको हो ।
गत वर्ष वर्ष ८ हजार ६ सय २० हेक्टरमा धान खेती गर्दा ३२ हजार ७ सय ५६ मेट्रिकटन धान उत्पादन भएको थियो भने यो वर्ष सोही भूभागमा लगाएको धानको उत्पादन बढेर ३४ हजार ३ सय ९३ पुगेको छ । जिल्ला कृषि विकास कार्यालय पाल्पाका बाली विकास अधिृकत राजेन्द्र चौधरीका अनुसार पाल्पा जिल्लामा गत वर्ष धान उत्पादकत्व ३ दशमलब ८ र यो वर्ष उत्पादकत्व बढेर ३ दशमलब ९३ पुगेको छ ।
तराईका केही जिल्लामा धान उत्पादन घटे पनि पाल्पामा उन्नत जातको बिउ, मलको सुबिधा तथा सिंचाईको सुबिधाले धान उत्पादनमा बृद्धि भएको कृषि कार्यलयले बताएको छ । गत वर्ष पाल्पामा आएको बाढी र पहिरोका कारण धान उत्पादन हुने क्षेत्र घटेपनि उत्पादन बढेको हो ।
गत वर्षको बाढी पहिरोले धान खेती हुने रामपुर, मित्याल, झिरुबास, माडीफाँट, हुमिन क्षेत्रका एक हजार रोपनी खेत बगरमा परिणत भएको थियो । तर यो वर्षको धान उत्पादन तीन वर्षकै अत्याधिक भएको हो । तीन वर्षअघि पाल्पामा धान उत्पादन ३२ हजार ८ सय ४४ मा रहेको कषि कार्यालयले जनाएको छ ।
तीन वर्ष वर्ष आठ हजार सात सय ५० हेक्टर भूभागमा धान खेती भएकोमा यो वर्ष एक सय ३० हेक्टर धान उत्पादन उत्पादन क्षेत्र घटेको छ । क्षेत्रफल नबढे पनि समग्र उत्पादन र उत्पादकत्व बढेको बढ्नुमा रासायनिक मलको सहज उपलब्धता, सिंचाईको राम्रो सुबिधा, टारी खेतको धानका लागि असोज महिनामा प्रशस्त पानी पर्नुलगायतका रहेको बाली विकास अधिृकत चौधरीले बताउनुभयो ।
जिल्लामा अहिले हाइब्रिड, स्थानीय, एवं सुधारिएका नयाँ जातका धान लगाइएको छ । स्थानीय जातका धानमा मनसुली, थापा, सावित्री, आमझोत्ते, झिनुवा छन् भने हाईब्रिड जातका गोरखनाथ, लोकनाथ, डाइरिरिज, जातका धान लगाइएको कृषि कार्यालयले जनाएको छ । पानी धेरै परेकाले स्थानीय जातका धान राम्रो भएको र हाइब्रिड धान पनि लगाउने क्रम बढ्दा उत्पादन र धान उत्पादकत्व बढेको कार्यालयको भनाई छ । यस्तै पाल्पामा चैते धान खेतीका कारणले पनि पाल्पाको समग्र धान उत्पादनमा बृद्धि गराउन सहयोग पुगेको हो ।
यहाँका आधी दर्जन फाँटका ८१० हेक्टर भूभागमा अहिले पनि चैते धान खेती गरिने जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत वैकुण्ठनाथ खनालले जानकारी दिए ।
