‘फोर ओभर’का कारण सवारी दुर्घटना बढ्योः क्षेत्रीय प्रशासक

Read Time:3 Minute, 30 Second

रूद्र श्रीसमगर

पोखरा, ८ मंसिर

पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले ‘फोर ओभर’का कारण सवारी दुर्घटना बढेको बताएका छन ।

अञ्चल प्रहरी कार्यालय, गण्डकीले सोमबार आयोजना गरेको ‘सवारी दुर्घटना न्यूनिकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासक थपलियाले चार कारण ओभर लोड, ओभर स्पीड, ओभर ओर्क र ओभर टेकका कारण सवारी दुर्घटना बढ्दै गएको उल्लेख गरेका छन ।

सवारी चालक र सवारी धनीले जुन प्रयोजनका लागि राज्यबाट इजाजत लिएको हो त्यही प्रयोजन अनुसार चल्नुपर्ने भन्दै क्षेत्रीय प्रशासक थपलियाले रुट इजाजत विना सवारी चलाउन नपाउने बताए । ‘सार्वजनिक यातायातलाई कसरी भरपर्दो, विश्वसनीय र सुरक्षित बनाउने भन्ने नै अहिलेको मुख्य चुनौति हो’, थपलियाको भानाइ थियो, ‘हामी सबैका सल्लाह र सुझाव लिएर नीति, नियम बनाउँछौं, त्यसरी बनाइएको नियम सबैले कडाइका साथ पालना गर्नुपर्दछ ।’

अञ्चल प्रहरी कार्यालय, गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बलराम शर्मा पौडेलले सवारी दुर्घटना न्यूनिकरणका लागि सबैको सहकार्य आवश्यक भएकोमा जोड दिएका थिए ।

एसएसपी पौडेलले सवारी चालक अनुमतिपत्रविना सवारी चलाउने, सह–चालकलाई चलाउन दिने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, यान्त्रिक रूपले ठिक नभएका सवारी चलाउने, गाडीको क्षमताभन्दा बढी मान्छे राखेर, झ्यालढोका खुलै राखेर चलाउने गर्दा सवारी दुर्घटना बढेको उल्लेख गरे । साइड लाइट, हेड लाइट ठिक नहुने, झुण्डिएर सवार गर्ने, सवारी चालक र सवारी धनीबीच मनमुटाव हुनु, ट्राफिक चिन्हहरू कहीँ नराख्नु, सवारी चालक, सवारी धनी र यात्रुको असावधानी, अव्यवस्थित पार्किङ आदिका कारणले दुर्घटना बढिरहेको एसएसपी पौडेलको तर्क थियो ।

पृथ्वी राजमार्ग बस व्यवसायी समितिका महासचिव योगेन्द्र केसी, पोखरा बस व्यवसायी समितिका अध्यक्ष रमेश गिरी, नागरिक समाजका अगुवा रामबहादुर पौडेल, उपभोक्ता मञ्च कास्कीका सचिव अधिवक्ता राजु अधिकारी, नेपाल स्वतन्त्र यातायात मजदुर सङ्घ गण्डकीका अध्यक्ष विष्णु खत्री, नेपाल यातायात मजदुर सङ्घ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङलगायतले यातायात व्यवस्थापनमा राज्यले लगानी बढाउनुपर्ने भन्दै चालकहरूको दक्षता अभिवृद्धि र ट्राफिक जनचेतनाका लागि विशेष ध्यान दिुनपर्ने बताएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %