रूद्र श्रीसमगर
पोखरा, २ मंसिर
नेपाल उद्योग वाणिज्य महासङ्घ र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा यही मंसिर ४ गतेदेखि सुरु हुने ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७१’को सम्पूर्ण तयारी पूरा भएको छ ।
मगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मेलाका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।
‘लगानीको सम्वद्र्धन उद्योग, व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित मेला यही मंसिर १४ गतेसम्म सञ्चालन हुनेछ । पोखरालगायत समपूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत उत्पादनहरूलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको सङ्घका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक विन्दु कुमार थापाले जानकारी दिए ।
मेलामा औद्योगिक तथा व्यापारिक, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधिहरू, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूको गतिविधिहरूको प्रदर्शनी, स्थानीय कला र संस्कृति झल्किने स्टललगायत दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरूसहितका २ सय ९५ वटा स्टल रहने संयोजक थापाले जानकारी दिए । मेला आयोजनाबाट उत्साहित भइ विभिन्न व्यवसायिक प्रतिष्ठान तथा व्यवसायीहरूबाट मेलाका लागि झण्डै १५ लाख ५० हजार रुपैयाँ बराबरको प्रायोजन भइसकेको र मेलामा राखिएका सबै स्टल, सामग्री तथा सहभागीहरूको बिमा गर्ने काम पनि सम्पन्न भएको जनाइएको छ ।
मेलालाई पृथकता दिन यसपटक मेलाको सांस्कृतिक कार्यक्रममा विविधताको प्रयास गरिएको भन्दै थापाले फेशन शो, हास्य प्रहसन, शारीरिक सुगठन प्रतियोगिता, तेक्वान्दो र जिम्न्याष्टिकको प्रस्तुती, ख्यातिप्राप्त ब्याण्डहरूको लाइभ कन्सर्ट तथा लोकदोहोरी, सुगम संगीत तथा पप गीतका चर्चित कलाकारहरूको प्रस्तुतीले पनि मेलाको मनोरञ्जनात्मक पक्षलाई सबल बनाउने विश्वास लिइएको बताए । त्यसैगरी, मेलामा इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, लामाचौरका विद्यार्थीहरूले तयार पारेको यन्त्रमानव (रोबोट), पोखरामा बन्न लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नमुना, फेवाताल, विन्ध्यवासिनी तथा विश्व शान्ति स्तूपाको नमुना पनि आकर्षणका रूपमा रहनेछ ।
त्यस्तै, पोखरा–९, नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजना हुने सो मेलामा मेलास्थलमा रहेको डोममा ७८, रेष्टुरेण्ट १५, अटो ४७, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ३६, फ्लोरिकल्चरमा ७, गार्मेण्ट २० र बाँकी साधारण स्टल रहेको समेत संयोजकले थापाले जानकारी दिए । मेलामा राखिएको मेड इन नेपाल पेभेलियनमा रहने नेपाली उत्पादनहरूले उद्यमशीलता चाहनेहरूलाई प्रेरणा प्रदान र नेपाली उत्पादनप्रति जनचासो बढाउने आशा समेत आयोजकले गरेको छ ।
मेलाबाट अनुमानित आम्दानी ९५ लाख रुपैयाँमा अनुमानित खर्च ७० लाख रुपैयाँ कटाउँदा २५ लाख रुपैयाँ बचत हुने अनुमान आयोजकले गरेको छ । मेलाको प्रवेश टिकट दरको हकमा विद्यार्थीहरूका लागि ३५ रुपैयाँ र अन्य सर्वसाधारणका लागि ५० रुपैयाँ राखिएको छ । दैनिक बिक्री हुने टिकटमध्ये गोलाप्रथाबाट एक जनालाई सामसुङको आकर्षक सेट उपहार प्रदान गरिनेछ भने टिकट बिक्रीबाट प्राप्त रकमबाट विगतका वर्षहरूमा थालिएको पोखरामा दमकल खरिदका लागि प्रति टिकट २ रुपैयाँ, बालश्रम न्यूनिकरण कार्यक्रमका लागि १ रुपैयाँ र समग्र पोखराको विकासका लागि २ रुपैयाँ छुट्याइने समेत जनाइएको छ । सङ्घकै संयोजनमा सञ्चालन हुने सो कोषको रकम आवश्यकता हेरी पोखराको विकासको जुनसुकै परियोजनामा पनि खर्च गरिने थापाले बताए ।
साथै, मेलाकै अवसरमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा बसपार्क निर्माणका लागि जग्गा अधिग्रहणमा सहयोग गरेका दुई जना व्यक्तित्व तत्कालिन अञ्चलाधीश शड्ढरराज पाठक र पूर्व सचिव पदमबहादुर छेत्रीलाई सम्मान समेत गरिने जनाइएको छ ।
