देब पचभैय
स्याङ्जा, ३० कार्तिक – बर्षाको समयमा कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएसंगै अबरुद्ध रहेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ ।
शिला शालिग्राम कालीगण्डकी जल यातायात प्रालिले स्याङ्जाको मिर्मीस्थित आधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी शिलासम्मको जलयात्रा सेवा नदीमा पानीको बहाब घटेसंगै सुचारु भएको हो ।
असारको पहिलो साताबाट अबरुद्ध रहेको जल यातायात एकहप्ता अघिबाट सञ्चालनमा आएको कम्पनीका अध्यक्ष टिकाराम कुवरले जानकारी दिएका छन् ।
स्टीमर सेवा सुचारु भए संगै स्याङ्जा, पर्वत, बाग्लुङ र गुल्मीका दर्जनभन्दा बढी गाविसका स्थानीयबासिन्दा लाभान्वित भएका छन् । कम्पनीका अध्यक्ष कुवरका अनुसार कालीगण्डकी करिडोरको निर्माणपछि जीपबाट यात्रुहरु तथा मालसामन ढुवानी गरिएकाले पनि विगतका वर्षहरुमाभन्दा यसपटक यात्रुहरुको चाप घटेको छ । सेवा बन्द हुँदा स्याङ्जाको पिडीँखोला र निबुवाखर्क, पर्वतको शालिग्राम, बर्राचौर, रानीपानी, वहाकी, टकलाक, हुवास तथा बाग्लुङका जैदी, छिस्दी र राङ्खानीका सर्वसाधारणसहित गुल्मीको अर्बेनी, जयखानी, पूर्तिघाट, फोक्सिङ, हर्मिचौर, लुम्पेकका बासिन्दाले त्यहाबाट सेवा लिइरहेको जल यातायात समितिले जनाएको छ । जलयात्रामा आूधीमुहानदेखि सेतिवेणी शिलासम्म करिब ७ किलोमिटर दूरीमा प्रतिब्यक्ति ६० रुपैया भाडा लाग्छ भने सामानका लागि प्रतिकेजी १ रुपैया भाडादर कायम गरिएको कम्पनीका अध्यक्ष कूवरले जानकारी दिए । कालीगण्डकी जलयातायात कम्पनीमा अहिले १० वटा स्टिमर सञ्चालनमा छन् ।
जल यातायात सम्बन्धि कुनै पनि कानून नभएकाले यातायातलाई संचालन हुने दिने वा नदिनेमा जिल्लास्थित सुरक्षा निकाय अन्यौलमा परेको छ । प्रशासन कार्यालयका अनुसार यातायातलाई बन्द गर्ने कि चल्न दिने भन्नेमा छलफल चलिरहेको छ ।
