देब पचभैया
स्याङ्जा, ३० कार्तिक – स्याङ्जा जिल्लामा सुरक्षित गर्भपतन सेवा लागु भएपछि अबैध गर्भपतन गराउने महिलाको संख्यामा पछिल्लो समय कमी आएको जिल्ला अस्पतालले जनाएको छ ।
सरकारले यसलाई कानूनी मान्यता दिएपछि असुरक्षित यौन सम्पर्क र अनिश्चित गर्भपतन गराउनेको संख्या आर्थिक वर्ष २०६८-०६९ मा ६ सय १९ जना महिलाहरुले गर्भपतन गराएका थिए । २०६९-०७० मा २ सय २७ जनाले गर्भपतन गराएका थिए भने ०७०- ०७१ मा १ सय ६२ जनाले गर्भपतन गराएका जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका तथ्याङ्क सहायक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
पहिलो पटक गर्भपतन गराएपछि हजारमा २० प्रतिशत बच्चा जन्मने सम्भावना कम हुने चिकित्सकहरुको भनाई छ । नेपाल सरकारले २०५२ सालबाट गर्भपतनलाई कानूनी मान्यता दिए पनि जिल्लामा भने ७ बर्षदेखि यो सेवा प्रदान गरिदै आएको छ । जिल्ला अस्पतालमा धेरै जसो असुरक्षित यौन सम्पर्कबाट हुने गर्भपतन गराउन आउनेहरुको संख्या धेरै रहेको बताईएको छ ।
जिल्ला अस्पताल र वालिङ प्राथमिक स्वास्थ्य केन्द्र गरी २ स्थानमा सुरक्षित गर्भपतन सेवा दिने ब्यवस्था रहेको छ । यसैबीच जिल्लामा स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा लिनेको संख्यामा पनि कमि हुदै गएको छ । स्याङ्जामा आर्थिक वर्ष २०६८-०६९ मा १ हजार ६ सय ८६, ०६९-०७० मा १ हजार ४ सय ५४ र ०७०-०७१ मा १ हजार ४ सय ३९ महिलाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुति सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्याङ्जाका २ सामुदायिक अस्पताल तथा बर्थिङ सेन्टरसहित २२ वटामा यो सेवा सञ्चालन भएको बताईएको छ ।
