मिर्गौला पीडितलाई बागलुङ–पोखरा मगर समाजको २० हजार सहयोग
रूद्र श्रीसमगर
पोखरा, १३ कात्तिक,बागलुङ–पोखरा मगर समाजले मिर्गौलापीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
बागलुङ जिल्ला दमेक–८ घर भइ हाल लेखनाथ नगरपालिका–१, पट्नेरीमा बस्दै आएकी मिर्गौला पीडित ४२ वर्षीया तुलमाया पुनमगरका श्रीमान तुल बहादुर पुन मगरलाई समाजका अध्यक्ष भीमबहादुर श्रीसमगरले २० हजार रुपैयाँ नगद रकम हस्तान्तरण गरेका छन ।
गत असोज २१ गते काठमाडौं, जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा स्वास्थ्य परीक्षणका क्रममा दुवै मिर्गौला खराब भएको पुष्टि भएको तुलमायाका श्रीमान तुल बहादुरले जानकारी दिएका थिए । मिर्गौला पीडित तुलमायाले स्वास्थ्य परीक्षणपश्चात् दुवै मिर्गौला खराब भएको पुष्टि भएपछि असोज २२ गतेदेखि मणिपाल शिक्षण अस्पतालमा हप्ताको दुईचोटि डायलोसिस गराउँदै आएका छन ।
मणिपालमा डायलोसिस गराउने ठाउँको अभाव भएपछि शुक्रबार काठमाडौं जाने उहाँका श्रीमान तुल बहादुरले बताए । हप्ताको दुईचोटि डायलोसिस गराउँदा १६ हजार रुपैयाँ भन्दा बढी खर्च लाग्ने भन्दै परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । मिर्गौलापीडित तुल मायालाई सहयोग गर्नका लागि ९८०५२०८७३५ र ९८४६०६९१५७ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
समाजका अध्यक्ष भीमबहादुर श्रीसमगरको अध्यक्षतामा भएको र सहयोग रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन सचिव कृष्णा कुमारी श्रीस मगरले गरेका थिए ।
