सबैले समान अधिकार पाए मात्र साझा फूलबारी हुन्छः गुरुङ
रूद्र श्रीसमगर
पोखरा, ४ कात्तिक-पोखरा–११, रानीपौवा, शक्तिघाटस्थित तमु समुदायको धार्मिक संस्था तमु प्ये ल्हु संघ नेपालको २५ औं वर्ष रजत वर्ष प्रवेशको अवसरमा रजत महोत्सव–२०७१ सम्पन्न भएको छ ।
म·लबार रजत महोत्सवको समापन कार्यक्रममा बोल्दै नेकपा–माओवादीका सचिव देव गुरुङले देशका सबै नागरिकले बराबर अधिकार पाए मात्र नेपालको सबैको साझा फूलबारी हुने बताएका थिए ।
विशिष्ट अतिथिका रूपमा करिब १२ मिनेटसम्म पूरै समय आफ्नो मातृभाषा तमु (गुरुङ) भाषामा बोल्नुभएका सचिव गुरुङले सबैले बराबरी अधिकार पाए मात्र असली लोकतन्त्र आउने उल्लेख गरेका थिए ।
‘गुरुङलगायतका आदिवासी जनजातिलाई विगतमा राज्यसत्ताबाट षड्यन्त्रमूलक ढंगले विस्थापित गरियो’, उहाँले भन्नुभयो, ‘तमुवान प्रदेशका आदिवासी गुरुङहरूको आफ्नै भाषा, आफ्नै धर्म, आफ्नै संस्कृति छ, अब यसको संरक्षण र विकासका लागि राज्यमा बराबरी अधिकार चाहिन्छ ।’
‘बराबरी अधिकार भयो भने मात्र असली लोकतन्त्र वा जनवाद आउँछ’, गुरुङको भनाइ थियो, ‘राज्यमा सबैको समान र बराबर पहुँच हुनुपर्छ, कोही कसैमाथि विभेद हुनु हुँदैन ।’आदिवासी गुरुङ समुदायमा प्राचीन समयदेखि नै सामूहिकता र समानताको संस्कृति रहेको उल्लेख गर्दै गुरुङले आफ्नो विज्ञानसम्मत संस्कृतिलाई भुल्न नहुने बताए ।
तमु प्ये ल्हु संघसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै पूर्व स्थानीय विकास एवं कानुन मन्त्री गुरुङले फ–लि–ना क्होइबोलाई तमु समुदायको साझा प्रतीकका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । प्ये ल्हु संघको विकासमा आफूले सक्दो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत गरेका थिए ।
समापन कार्यक्रममा संघका परम संरक्षकहरूका तर्फबाट बलबहादुर टु तमु, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष सोम त्होर्जे तमु, सल्लाहकार कप्तान डेमबहादुर तमु, संघका संस्थापक अध्यक्ष जस·बहादुर तमु, गुरुङ प्राज्ञिक मञ्चका सुन्दर तमुलगायतले बोलेका थिए ।
कार्यक्रममा झाँकी प्रतियोगितामा विजयी तमु समाजहरूलाई समेत पुरस्कृत गरिएको थियो । झाँकीमा प्रथम हुने स्याङ्जाली तमु समाज, लेखनाथ, द्वितीय हुने क्होंला ट्हो धिं, रामबजार, तृतीय हुने स्याङ्जा मनकामना पेल्काचौर तमु समाज र सान्त्वना हुने दूधपोखरी तमु समाजले क्रमशः नौ हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा झाँकीमा सहभागीहरूलाई प्रमाणपत्र तथा सहयोगदाताहरूलाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।
संघका केन्द्रीय अध्यक्ष क्या. रूपबहादुर गरब्ज तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य कञ्चन ल्हेंगे तमुले गरेका थिए ।
