जिविस पाल्पाको आम्दानी ८५ प्रतिशतले घट्दै
देब पचभैया
पाल्पा, असोज २४ – चुरेक्षेत्रबाट ढुङ्गागिट्टीको निकासीमा रोक लागेपछि जिविस पाल्पाको आम्दानी ८५ लाख घट्ने भएको छ । चुरेको दोहन र निकासीले प्रतिदिन खतरामा परेको भन्दै सरकारले चुरे क्षेत्रबाट नदीजन्य सामग्री निकासीमा रोक लगाए पछि जिविसले संकलन गर्दै आएको रोयल्टी घट्ने भएको हो ।
जिल्लाको कचल गाविसको खोला, सत्यवतीको खोरमोर खोला, बल्ढेङ्गढीको इंगुरिया खोला, सत्यवतीकै कञ्चनखोला, दोभानखोला र डुम्रेखोलाबाट यस वर्षदेखि नदीजन्य सामग्री निकासीमा रोक लागेको छ । यसले जिविसको लाखौँ रूपियाँको आन्तरिक आम्दानी घट्ने जिविसले जनाएको छ । सरकारले भौगर्भिक रूपमा कमजोर र धेरै पानी पर्ने चुरे क्षेत्रका जलाधार क्षेत्र र नदी प्रणालीलाई सम्वेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै गिटी, ढुंगा निकासीमा रोक लगाएको छ ।
जिविस राजश्व शाखाका प्रमुख नायव सुब्बा रामप्रसाद पाण्डेका अनुसार झण्डै दुई करोड आम्दानी हु“दै आएकोमा यसवर्ष कम्तीमा ८५ लाख कम हुने पक्का छ । तीन वर्षयता चुरेक्षेत्रबाट ढुंगा निकासी गर्न सुरू गरेपछि जिविसको आम्दानी दोब्बर भएको थियो ।
जिल्लाको आन्तरिक आम्दानी घट्ने भए पछि यहाँका जनप्रतिनिधि तथा कर्मचारी चिन्तित बनेका छन् । आन्तरिक आम्दानी हुने स्रोत बन्द भए पछि जिल्लाका विकास निर्माण सोझैँ प्रभावित बन्ने कर्मचारीले बताएका छन् । सडक र खानेपानीको म्याचिङ्मा आन्तरिक स्रोतको आम्दानीले थेगेको थियो ।
आन्तरिक आम्दानीको २५ प्रतिशत प्रशासनिक खर्च हुने गरेको छ भने अन्य स्रोत जिविसले आन्तरिक आम्दानीबाट कम निकासा आउने बजेटमा थप गर्ने र नेता, कार्यकर्ताले मागेका योजनालाईसमेत बितरण गर्ने गरेको थियो । जिविसले ढुंगा गिट्टीबाट गरेको आम्दानीले आन्तरिक आम्दानी कम भएका गाविसका आयोजनामा समेत विरतण गरी विकास निर्माणका सहयोगी बनेको थियो ।
अब जिल्लाको आम्दानी कम हुने भए पछि केन्द्रबाट आउने रकममा मुख ताक्नु पर्ने बाध्यता बनेको पूर्व जनप्रतिनिधिहरूले बताएका छन् ।
