काठमाडौं, आश्विन ७ – वामपन्थी आन्दोलनकी अगुवा एमाले नेतृ सहाना प्रधानको निधन भएको छ ।

बल्खुस्थित बयोदा अस्पतालमा उपचाररत प्रधानको सोमबार राति ११ बजेर ५ मिनेटमा निधन भएको हो । उनलाई गत जेठदेखि बयोदा अस्पतालको आईसीयूमा राखेर उपचार गरिंदै आएको थियो । प्रधानले २०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गरेकी थिइन् ।
एमाले सचिव योगेश भट्टराईले नेतृ प्रधानको मंगलबार नै अन्तिम संस्कार गरिने जानकारी दिए । त्यसअघि उनको पार्थिव शरीर बल्खुस्थित एमाले मुख्यालयमा राखिनेछ ।
प्रधानको निधनपछि एमाले पदाधिकारीको आकस्मिक बैठक मंगलबार बिहान नै पार्टी मुख्यालयमा बस्दैछ ।
कम्युनिष्ट संस्थापक स्व. पुष्पलाल श्रेष्ठकी पत्नी सहानाको जन्म बि.सं. १९८४ साल असरा ३ गते काठमाडौंको असनमा भएको थियो ।
बि.सं. २००४ सालमा नै राणाविरोधी आन्दोलनमा लागेकी प्रधानले तत्कालिन प्रधानमन्त्री पद्म शमसेरसमक्ष महिलालाई शिक्षा दिलाउन माग गर्दै १५ दिन आमरण अनसन बसेकी थिइन् ।
जुझारु महिला नेतृत्वको छवि बनाएकी सहानाले भारतको पटनाबाट स्नातक उत्तीर्ण गरेकी छन् ।
राणा, पञ्चायत, प्रजातन्त्र र गणतन्त्रका लागि अविरल खटिएकी सहाना २०४६ सालको अन्तरिम सरकारमा उद्योग र वाणिज्य मन्त्री भएकी थिइन् । २०५३ सालमा महिला बालबालिका तथा समाजकल्याण र २०६३ सालमा परराष्ट्रमन्त्री भएकी थिइन् कान्तिपुरले समचार छापेको छ ।
