कोहि छ भने, विशेष गुणले सम्पन्न योग्य गुरु भगवान् बुद्ध नै हुनुहुन्छ

Read Time:9 Minute, 4 Second

नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स ।नमस्कार उहाँ भगवान अरहन्त सम्यक सम्बुद्धलाई ।

आरोन तुलाधर

गुरु बन्ने चाहना र इच्छा धेरैजसो व्यक्तिमा हुने गर्छ । तर इच्छा हुँदैमा योग्यता विना योग्य गुरू बन्न सम्भव छैन । भगवान् बुद्ध विशेष गुणले सम्पन्न योग्य गुरु हुनुहुन्छ । कस्तो व्यक्तिलाई कस्तो व्यवहार प्रयोग गरी शिक्षा दिनु पर्दछ भन्ने ज्ञानका दाता भगवान् बुद्धले प्रचण्ड स्वभावका विभिन्न व्यक्ति हरूलाई दमन गरी शिक्षा दिन सफल हुनु भएको थियो । ती व्यक्तिहरूलाई दमन गर्नका लागि कुनै बाह्य शस्त्र एवं हतियार प्रयोग गर्न परेन अर्थात् हिंसात्मक कार्य अपनाउन परेन । उहाँको सकारात्मक सोचाई एवं उपायद्धारा उनीहरूलाई दमन गर्नु भएको थियो उहाँले ।

  

उदाहरणको लागि आलवक नामक क्रोधी एवं राक्षसी स्वभावका व्यक्तिलाई भगवान् बुद्धले उहाँले शुद्ध क्षान्ती (सहनशीलता) बलले दमन गर्नुभई एक असल भलादमी एवं शिक्षित व्यक्तिको रूपमा परिणत गरिदिनु भएको थियो । यसरी नै उहाँले हिंस्रक अंगूलीमाललाई ऋद्धि युक्त करूणा बलले दमन गर्नु भएको थियो । यस्तो घटनामा कुनै पनि व्यक्तिको एक थोपा रगत पनि चुहाउन परेन । सयौं मानिसहरूका हत्यारा अंगुलीमाललाई भगवान् बुद्धले बताउनु भएको ज्ञानबर्द्वक शिक्षाले परिवर्तन भई शान्त दान्त भिक्षु अहिंसक बनेका थिए । यसरी नै घमण्डी उरूबेल काश्यप, गया काश्यप र नदी काश्यप नामक ऋषीहरू भगवान् बुद्धको विशेष गुणले युक्त प्रभावकारी शिक्षाले प्रभावित भई उहाँ समक्ष नतमस्तक बनी बुद्ध अनुयायी बनेका थिए ।

आक्रोशक ब्राह्मणले भगवान् बुद्ध प्रति क्रोधित बनी उहाँलाई गधा, गोरू, भेडा आदि संज्ञा दिई मनपरि गाली गर्न आएका थिए । यस्तो अवस्थामा पनि भगवान् बुद्ध मुसु मुसु हाँसी यसरी जवाफ दिनु भएको थियो—

“महासय ! तपाइँले मेरो लागि भनी बोकेर ल्याउनु भएको गधा, गोरू, र भेंडा जस्ता कोशेली मलाई चाहिँदैन, यसलाई मैले स्वीकार गर्न सक्दिन । त्यसैले ती सबै कोशेली तपाईले नै फिर्ता लिनुहोला ।”

क्रोधका आवेगमा दुषित चित्तले ग्रसित भई निर्दोष बुद्धलाई मनपरि गालि गर्न पुगेका ब्राह्मणलाई भगवान् बुद्धले मुसु मुसु हाँस्दै प्रयोग गर्नु भएको मैत्रीपूर्ण वचनले प्रभावित पार्यो । फलस्वरूप ब्राह्मणको हृदय परिवर्तन भयो । ब्राह्मणले बालेको द्वेषपूर्ण आगोमा भगवान बुद्धले मैत्रीयुक्त शीतल जल खन्याई शीतलता प्रदान गर्नु भएको आभाष मिल्यो । यसरी भगवान बुद्धको शिक्षामा कुनै हिंस्रक घटना प्रयोग भएको देखिदैन । अहिंसक गुरूको योग्य गुण हो यो ।

भगवान बुद्धले समाजमा व्यापक रूपमा फैलिएको कुलभेद र जातीभेद विरूद्ध यसरी अभियान चलाउनु भएको थियो ।

“न जच्चा वसलो होति न जच्चा होति ब्राह्मणो कम्मना कसलो होति कम्मना होति ब्राह्मणो”

अर्थात् — जन्मले कोही नीच एवं ब्राह्मण हुँदैन । कर्म वा कामले नै नीच र ब्राह्मण हुनेछ । आफूले बोलेको कुरालाई काम गरेर नै देखाउन सक्षम हुनु भएका भगवान बुद्धले माथि उल्लेखित कथनलाई व्यवहारमा लागु गरेर नै देखाउनु भएको थियो । उहाँले ब्राह्मण देखि पोडे जातका व्यक्तिहरू समेत समावेश गरी भिक्षु संघ गठन गर्नुभयो ।

भगवान् बुद्धले बताउनु भएको शिक्षामा जातिभेद मात्र होइन लिङ्गभेद पनि छैन अर्थात् पुरूष र स्त्री जाती बिच कुनै भेदभाव छैन । उहाँले भिक्षु भिक्षुणी,उपासक र उपासिकाहरूलाई उनीहरूको आ–आफ्नो योग्यतानुसार एवं क्षमतानुसार समान रूपमा पदवी प्रदान गर्नु भएको थियो । नारी पुरूष बीचको भेदभाव गर्ने तत्कालिन समाजको सकुंचित एवं स्वार्थपूर्ण भावनालाई भगवान बुद्धले विरोध गर्नु भएको थियो ।

भगवान् बुद्धले यसरी भन्नु भएको छ — “अत्ताहि अत्तनो नाथो कोही नाथो परोसिया”

अर्थात् — “आफ्नो मालिक आफै हो । अरू कोही हुन सक्दैन” मन शुद्ध पार्न नसके सम्म कोही व्यक्ति दुःखबाट मुक्त हुन सक्दैन । तर आफ्नो मनलाई अरूले शुद्ध पारिदिन सक्दैन । आफैले शुद्ध गर्नुपर्ने हुन्छ । कोही पनि योग्य गुरूले त केबल चित्त शुद्ध पार्ने मार्ग मात्र देखाउन सक्नेछ ।

भगवान बुद्ध भन्नुहुन्छ— “सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा सचित्त परिपोदपनं एतं बुद्धानु सासनं ।”

अर्थात् — “कुनै पापकर्म नगर्नु, पुण्य असल कार्यहरू मात्र गर्नु, आफ्नो चित्त परिशुद्ध गर्नु । बुद्धहरूले सिकाउनु भएको शिक्षा नै यही हो ।”

यहाँ प्रमुख कुरा मनको हुन आउँछ । मन शुद्ध नगेरसम्म जीवन सफल हुने छैन । भगवान् बुद्धले स्वतन्त्र चिन्तनलाई बढी महत्व दिनुहुन्छ । उहाँले कहिले पनि कसैलाई पनि मेरो शिष्य बन्नु, मेरो शरण पर्नु भन्नु भएको छैन । उहाँले भन्नुहुन्छ—

“मैले वताएको कुरा भन्दैमा, इतिहासमा उल्लेखित कुरा हुँदैमा, स्वीर्कानु पर्छ भन्ने छैन । कुनै पनि कथनलाई स्वीकार्नु भन्दा पहिला आफ्नो स्वतन्त्र दिमागले त्यस कुरा ठीक छ छैन जाँचेर हेर्नु पर्छ । यदि त्यो कुरा न्यायसगं त ठहरिएमा मात्र स्वीकार गर्ने होइन भने त्यागि दिने । सुनारले सुनलाई विभिन्न उपाय प्रयोग गरी परीक्षा गर्छ र यदि त्यो सक्कलि सुन भएमा मात्र स्वीकार गर्दछ त्यसरी नै हामीले पनि जुनसुकै कथनलाई पनि आफ्नो दिमाग रूपी कसीमा घोटेर हेर्नुपर्छ जाँच्ने गर्नुपर्छ ।”

यसरी २५ सय वर्ष पहिला नै स्वतन्त्र चिन्तनको सन्देश फैलाउनु हुने भगवान् बुद्धलाई निश्वार्थ एवं योग्य गुरूको रूपमा लिन सकिन्छ । कुशल केहो, अकुशल केहो, धर्म के हो र अधर्म के हो, यस विषयमा राम्ररी स्पष्ट पार्न सक्नु नै उहाँको विशेषता हो । भगवान् बुद्ध परिनिर्वाण हुने बेला उहाँले भिक्षुहरूलाई सम्बोधन गर्नु हुंदै भन्नुभएको थियो—

“मेरो अन्तिम समय आउँदैछ, त्यसैले मैले आफ्नो जीवनकालमा जति पनि धर्मोपदेश गरेको छु, त्यसमा नबुझेको विषय कुनै छ भने, भ्रम एवं शंका रहेको छ भने अहिले नै सोधे पनि हुन्छ । तर कोही व्यक्तिवाट कुनै प्रश्न नआएपछि उहाँले भन्नुभयो—

“अप्पमादेन सम्पादेथ”

अर्थात् — हरेक क्षण, पाइला पाइला पिच्छे होश राख्ने गर्नु । यस बुद्ध वचनलाई गहिरिएर विचार गरौं कति दूरदर्शी हुनुहुन्छ भगवान बुद्ध ! महान् गुरु हुनु हुन्छ उहाँ ।

स्रोत :— धर्मकीर्ति ।। नमः बुद्धाय ।।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %