बलदीप प्रभाश्वर चामलिङ
व्रिटिश सेनामा भर्ती भएको दुइसय वर्षको ऐतिहासिक कालखण्डमा गोर्खालीहरुले आफ्नो मातृभूमि नेपाल र बेलायतलाई आफ्नो ठाउबाट दिएको योगदान उल्लेखनीय छ ।
वास्तवमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको निर्यात भनेको गोर्खालीहरुको बहादुरी हो । यो देशका अरु ज्ञान, विज्ञान र प्रविधिले मुलुकलाई नचिनाएपनि गोर्खालीहरुको “मुटु”ले चिनाएको छ । गोर्खालीहरुको त्यो वहादुरीता हाम्रो निधि हो । बरु यो देशका “टाउका”हरु निकम्मा भएका छन् । यो देशमा कसैको दीमाग काम लागेको छैन । सक्षम र दक्ष भन्नेहरुले देशलाई बर्बाद गरिदिएका छन् । भ्रष्टाचार , जालसाजी, पराधीनता, अन्धविश्वास र वेइमानीले ति कथित टाउकाहरु नष्ट भएका छन् । तिनीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई गरिबीको रेखामुनि राखिदिएका छन् । गोर्खालीहरुको देश नेपाललाई बदनामी कमाइदिएका छन् । तर गोर्खालीहरुको बहादुरीताले विश्वमा नेपालको परिचय स्थापित गरिदिएको छ । विश्व मानचित्रमा नेपालपनि एउटा देश छ है भन्ने ज्ञान अन्तर्राष्ट्रिय जगतमा प्रदान गरेको छ । त्यो गोर्खालीहरुको हिम्मतले गर्दा भएको हो । निकम्मा हुनुभन्दा त बरु बहादुर हुनु नै गौरवको विषय हो ।
व्रिटिश गोर्खाहरुको कारण मुलुकमा विपे्रषण भित्रिएको छ । यसले देशको अर्थतन्त्रलाई सकारात्मक टेवा दिएको छ । वास्तवमा भन्नुपर्दा अहिले नेपालमा नया नेपाल भनिने वाँके, वर्दीया, कैलाली र कंचनपुर नेपाल सरकारलाई नै वेलायतले फिर्ता गरिनुको कारण पनि उही गोर्खाली नै हो । सन् १८५७ ताका भारतमा सिपाई विद्रोह हुदा त्यसलाई अन्त्य गर्न गोर्खालीहरुकै योगदान थियो । गोर्खालीहरुको बहादुरीताले अंग्रेजले सफलता प्राप्त गरे । र, गोर्खालीहरुको त्यो योगदानको बदलामा बेलायतले सो ठाउ नेपाललाई फिर्ता गरिदिएका थिए । उता गोर्खालीहरु कुनै विदेशी सेनामा गएर अरुको लागि लडिदिनु रहर थिएन । त्यो बेलाका तात्कालिन नेपाली शासकहरुले गोर्खालीहरुको हितको लागि सही नीति तय गर्न नसक्दा गोर्खालीहरु बेलायती सेनामा भर्ती हुनु नियती बन्यो र अहिले आएर जीविकोपार्जनको लागि आफ्नो मुलुकमा अन्य विकल्पहरु नभैदिदा बेलायती सैन्य सेवामा जानु झन वाध्यता बनेको छ । यस्तो परिवेशमा व्रिटिश सरकारले गोर्खालीहरु माथि केही विभेदपूर्ण व्यवहार गरेको छ र त्यस विरुद्ध नेपाल सरकारले पनि आफ्नो तर्फबाट केही पहल नगरिरहेको अवस्था छ । यसो भएको हुनाले भूपू व्रिटिश गोर्खाहरु आफ्नै पहलबाट लामो समयदेखि आफ्नो हक–अधिकारको लागि संघर्षरत छ । यो कुरालाई सबैले हेक्का राख्नु पर्दछ ।
व्रिटिश गोर्खाहरुको आन्दोलन न्याय र समानताको सिद्धान्तमा आधारित छ । यसलाई गम्भीरतापूर्वक लिने हो भने यो नेपालको राष्ट्रिय प्रतिष्ठासंग पनि उतिकै जोडिएको छ । कुनै देशको नागरिक अरु कुनै मुलुकबाट दुरासयपूर्ण व्यवहारबाट प्रयोग हुनु कुनै पनि सार्वभौम मुलुकको लागि सुहाउने कुरा होइन । बेलायतले ठूल्ठूला युद्धकारवहीहरुमा उस्को नागरिकलाई भन्दा गोर्खाली लाहुरेहरुलाई जोखिम पूर्णरुपमा खटाए । समान र उतिकै जोखिमपूर्ण काममा लगाए वापत अवकास भंैसकेपछि बेलाययती सेनालाई धेरै र गोर्खालीलाई थोरै निवृतिभरण दिनु न्यायोचित हुन सक्दैन । जति निवृतिभरण बेलायती मुलका भूपूहरुले पाउछन् त्यति नै गोर्खालीहरुले पनि पाउनु पर्दछ वा जति गोर्खालीहरुले निवृतिभरण प्राप्त गर्छन उति नै बेलायतीहरुले पनि पाउनु पर्दछ भन्ने समानताको माग छ । समान निवृतिभरणको कुरा उठाउदा कसैलाई आर्थिक प्रलोभनजस्तो लागेता पनि त्यो वास्तविकता होइन । समान निवृतिभरणले नै न्याय र समानाको सिद्धान्तलाई पुष्टी गर्नसक्छ भनेर नै त्यो गरिएको हो । धेरै वा थोरैको कुरा होइन, तर दुवैपक्ष समान र एकरुपता हुनुपर्दछ भन्ने माग मात्र हो ।
गोर्खालीहरुले बेलायती सार्वभौम रक्षार्थ गोर्खालीले आहुति दिएका छन् । स्वयम वेलायती सैनिकभन्दा पनि बेलायतको लागि गोर्खालीहरुले कर्तव्यपरायणता भएर सेवा दिएका छन् । त्यासो भएको हुनाले व्रिटिश गोर्खाहरुले बेलायती नागरिक सरहको हौसियत पाउनु कुनै ठूलो आपतिको कुरा होइन । यदि विदेशी नागरिकले कुनैपनि अन्य मुलुकको प्रतिष्ठा र सार्वभौमिकतामा विशेष गुण लगाउछ भने उसलाई ससम्मान मनार्थ तथा “नेच्युरलाईज्ड” नागरिकता प्रदान गरिन्छ । हो, गोर्खालीहरुले बेलायतको सार्वभौम रक्षार्थ आफ्नो खुन बगाई दिएका छन्, आफुलाई वलिदान गरिदिएको इतिहास छ । बेलायतले गोर्खालीहरुलाई विना हिचकिचाहट ससम्मान वेलायती नागरिक सरहको हैसियत दिलाएर उनिहरुको अजेय आत्मसम्मानको कदर गर्नु पर्दछ । कुनै एक मुलुकको नागरिकले अर्को मुलुकको नागरिकता लिन हुदैन भन्ने विश्वव्यपी मान्यता छ । तर विट्रिश गोर्खाहरुको हकमा भने त्यो अपवाद हुन सक्छ । अहिले रोजी रोटीको लागि विदेशमा रहेका आप्रवासी नेपालीहरुको अवस्थासंग व्रिटिश गोर्खाहरुको अवस्था मिल्न सक्दैन । व्रिटिश गोर्खाहरु त नेपाल र व्रिटिश सरकार स्तरीय सम्झौताहरुको माध्यमबाट ब्रिटिश सेनामा भर्ती हुनु परेको हो । र, व्रिटिश साम्राज्यको लागि लडिदिनु परेको हो । गोर्खाली लाहुरेहरुको लागि बेलायत कुनै स्वर्गीक ठाउ भएर वा लाहुरेहरुले आफ्नो जन्मभूमि नेपालप्रति माया नगरेर त्यो माग उठाएका हुन भन्नु मुर्खता हुन जानेछ । नेपालको हितमा आफुलाई समर्पित गर्ने टोनी हेगन र एडमण्ड हिलरी जस्ता विदेशीलाई ससम्मान मनार्थ नागरिकता नेपालले प्रदान गर्नु के उनिहरुको आफ्नो मुलुक नभएर हो त ? चाहे लाहुरेहरु वेलायतमा बसुन् वा नबसुन् तर वेलायत सरकारले उनीहरुलाई वेलायती नागरिक सरहको हैसियत प्रदान नगरुन्जेल् उनीहरुको त्याग र वलिदानको मुल्य चुक्ता हुन सक्दैन ।
तसर्थ बेलायत सरकारले व्रिटिश गोर्खाहरुलाई प्रदान गर्ने आवसीय भिसा तथा नागरिकतालाई नेपाल सरकारले दोहोरो नागरिताको अर्थमा लिनु हुन्न । त्यो बेलायतले गोर्खालीहरुलाई प्रदान गर्ने नागरिकता “गुडिरहेको गाडीको पाँचौ चक्का” हो । काम त चारवटा चक्काले नै गरिरहेको हुन्छ तर जगेर्नाको लागि फाल्टो एक चक्का राखिएको हुन्छ । गोर्खालीहरुको लागि नेपाली नागरिकता नै काफी हो र नेपाली माटो नै जीवन हो । तर, बेलायत सरकारले उस्को तर्फबाट प्रदान गर्ने नागरिकता गोर्खालीको योगदानको कदर हो । त्यो वेलायत राज्यप्रति गर्नुपरेको बलिदानको चिनो हो । जीवन प्रकृयामा नेपाली नागरिकता नै प्रयोजन गरेपनि गोर्खालीले बेलायतले प्रदान गर्ने त्यो नागरिकतालाई बैठक कोठाको भित्तामा जगेर्ना गरेर राख्ने छन्, स्वभिमान र आत्मसम्मानको लागि ।
तर गोर्खालीहरुको माग र व्यथा कुरा कस्ले सुन्ने ? यो देशका शासन सम्हाल्ने टाउकाहरु पुरै उदासिन छन् । आज गोर्खालीहरु आफ्नै घरमा आफै बास माग्ने अवस्थामा छन् । जे पाएका छन् सबै खान र लगाउन पुग्दो नै पाएकै छन् भनेर व्रिटिश गोर्खाहरुको आन्दोलन सिर्फ पेट र रोटीसंग जोडिदिएको अवस्था छ । तर भूपू गोर्खाहरुको माग र आन्दोलन मुलुकको प्रतिष्ठासंग जोडिएको छ । गोर्खालीहरुको आन्दोलन सरकार स्तरीय तहमा कुटनैतिक पहलबाट हुनुपर्ने हो तर त्यो गर्न हाम्रा टाउकेहरु चाहिरहेका छैनन् । जे होस् सत्यको अन्त्यमा विजय हुन्छ र सम्पूर्ण भूपू गोर्खाहरु एक ढिक्का हुन अहिलेको लागि पहिलो सर्त हो ।