मनोज घर्तीमगर-पोखरा
स्याङ्जा मग्याम चिसापानी–१ प्यारसिङ झ्यार्बुङडाँडाका आगलागि पीडितलाई फेसबुक अभियानबाटै १९ लाख ४९ हजार तीन सय पाँच रुपैयाँ सहयोग जुटेको छ ।
जेठ ५ गते विद्युत सर्ट हुँदा भएको आगलागीबाट पीडित सात घरपरिवारलाई राष्ट्रिय भविबल खेलाडी तथा रेफ्री टहलसिंह थापामगरले आफ्नै संयोजकत्वमा अग्नी पीडित राहत संकलन सहयोग समिति बनाएर फेसबुकमार्फत देशविदेशमा रहेका नेपालीलाई सहयोग गर्न आह्वान गरेका थिए ।
स्वदेश तथा विदेशमा बस्ने विभिन्न व्यक्ति तथा सङघसंस्थाबाट संकलित १२ लाख ४६ हजार तीन सय र स्थानीय रुपमा संकलित सात लाख दुई हजार आठ सय पाँच गाउँमै पुगेर शनिबार सहयोग समितिका संयोजक टहलसिंह थापामगरले पीडितहरुको उपस्थितिमा वडा नागरिक मञ्चका अध्यक्ष नरबहादुर थापा, कोषाध्यक्ष अमरबहादुर थापामगरलाई हस्तान्तरण गरे ।
पीडितलाई दिइने रकम बुझेपछि मञ्चका अध्यक्ष नरबहादुर थापाले पीडितलाई राहत मिलेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए ।
