देब पचभैया
पाल्पा , श्रावण १० – रुपन्देहीको सालझण्डीदेखि पाल्पाको सुन्दरढुंगा जोड्ने मोटरबाटोको नयाँ ट्रयाक जोडिएको छ । विगत २० वर्षपहिलेदेखि केन्द्रीय तथा स्थानीय बल्ढेङ्गगढी गाविसको रकम प्रयोग गर्दै आएइएपनि ट्रयाक खुल्न सकेको थिएन ।
उक्त ट्रयाक अन्तरगत बल्ढेङ्गगढी गाविसको जोगदमारदेखि हिलेपोखरीसम्मको सात किलोमिटर बाटो गत आर्थिक वर्षको १४ लाख तथा केही रकम दायित्वसहित निर्माण गरिएको हो । बाटो खुलेसंगै स्थानीयबासी हर्षित भएको स्थानीय पुरन लम्तरीले बताए । यो नयाँ बाटो खुलेपछि गाविसका सुकादमार, चिदिपानी, गहते, काउले लगाएतका गाउँमा पुग्न सहज भएको छ । यसअघि सत्यवती गाविसको बुढीदरमार हुँदै घुमेर जानुपर्ने अवस्था थियो ।
अब रुपन्देहीको सालझण्डीदेखि पाल्पाको सुन्दरढुंगा हुँदै सदरमुकाम तानसेन तथा अर्घाखाचीको निगाली लगायतका ठाउँमा यात्रा गर्न सहज भएको छ । सालझण्डीदेखि सुन्दरढुंगा जोड्ने करिब ३० किलोमिटरको यो बाटो जोड्न दुई दशक लागेको स्थानीय झपेन्द्र खड्काले बताए ।
यसैबीच यसै अर्थिक वर्षदेखि सुरु गर्ने भनिएको सालझण्डी—तम्घास फाष्ट ट्रयाक आसपासमा पर्ने बल्ढेङ्गगढी गाविसका मानिसहरुले आफ्नो बस्ती छुनेगरी बाटो निर्माण गर्न आग्रह गरेका छन् । उनीहरुले केन्द्रीय योजना अनुरुपकै बाटो भएर ट्रयाक खोल्दा सहज हुने बताएका छन् । स्थानीय अगुवाहरुले पनि उक्त नयाँ ट्रयाक खोल्दा सालझण्डी, जुठापौवा, सुंगुरेढुँगा हुँदै गुल्मी लैजान आग्रह गरेका छन् ।
