निराज पिठाकोटे मगर

वीरगंज , १० साउन – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पर्साले २० औं विश्व आदिवासी जनजाति दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।
समन्वय परिषद पर्साका कार्यवाहक अध्यक्ष कमलबहादुर पिठाकोटे मगरको अध्यक्षतामा विभिन्न जातीय संघ संगठनका प्रतिनिधिको सहभागितामा आज वीरगंज पब्लिक कलेजमा बसेको बैठकले साउन २५ गते विश्व आदिवासी जनजाति दिवसलाई भव्यरुपमा सफल पार्नको लागि विभिन्न समिति पनि गठन गरेको छ ।
कार्यक्रमलाई सफल पार्नको लागि पर्सामा रहेका सबै जातिय संस्थाबाट एकएक जना प्रतिनिधि सम्मिलित आर्थिक समिति बनाएको छ । समन्वय परिषदका कार्यवाहक अध्यक्ष कमलबहादुर पिठाकोटे मगरको संयोजकत्वमा नेवार समुदायबाट चक्रबहादुर शाक्य, थारु कल्याणकारीका उपाध्यक्ष नन्दकिशोर पंजियार थारु, किरात राई यायोक्खाबाट जगत राई, गुरुङ तमु समाजका आशबहादुर गुरुङ, धानुक समाजबाट रामाशिष धानुक, तामाङबाट रामबहादुर लामा र उराँवबाट प्रभु उराँव रहने गरी आर्थिक समिति बनाएको नेपाल आथिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पर्साका कार्यवाहक अध्यक्ष कमलबहादुर पिठाकोटे मगरले जानकारी दिए ।
यसैगरी रामाशिष धानुकको संयोजकत्वमा सुरेश चौधरी, रामबहादुर तामागं उजेली मैया लामा, ममता महतो थारु, रमेश थापा मगर रहने गरी व्यावस्थापन समिति पनि बनाएको छ । बैठकमा विश्व आदिवासी जनजाति दिवसको लागि केन्द्रीय सचिवालयबाट अतिथि आमन्त्रण गर्ने र पर्सा जिल्लामा रहेका सबै आदिवासी जनजाति समुदायलाई साउन २५ गते दिवस सफल बनाउन आग्रह गर्ने निर्णय गरेको बैठकमा सहभागी थारु कल्याणकारी समिति पर्साका उपाध्यक्ष नन्दकिशोर पंजियारले बताए ।
