बिजय हितान
धेरै लामो समयपछि रमाइलो रेल यात्रा गरी घर फर्कें गत हप्ता ।
कामको सिलसिलामा रेलमा चढि एउँटा बातावरणिय सम्मेलनमा भाग लिन जाने अवसर मिल्यो । बेलायतको एकदमै दक्षिण-पूर्वको नेपालीको घना बस्ती भएको फक्स्टोन देखी दक्षिण-पश्चिममा अवस्थित पुरानो औधोगिक ईतिहास बोकेको ब्रिस्टल शहरमा म पुग्नु थियो । यसै यात्रालाई सङ्गालेर आज मेरा भावना साट्न मन लाग्यो पाठक समक्ष । कारद्वारा यात्रा त्यती सुगम नरहे पनि सस्तो चाहिँ अवस्य हुन्छ । रेल यात्रा कार यात्रा भन्दा ५/ ६ गुना महँगो पर्न जान्छ । त्यसैले मेरो रेलको यात्रा बिरलै हुन्छ बेलायतमा । तर भनिन्छ रेलको यात्रा कार यात्रा भन्दा बातावरण-मैत्री हुन्छ हरित ग्रिह्य ग्याँस कम उत्सर्जन हुने हिसाबले । महँगो रहेता पनि सेवा भने उच्च कोटिको पाइँदो रहेछ- रेल समयमा आउने र समयमै छुट्ने, सफा सुघ्घर, ठेला-ठेल न हुने । त्यस दिनले केही बर्ष अगाडि गोरखपुर देखी मद्रास सम्म मैले गरेको कस्टपूर्ण रेल यात्राको सम्झना दिलाएको थियो ।
पहिलो चरणको यात्रामा केन्टको ग्रामीण भुगोललाई छिचोल्दै रेल लन्डनतिर दौडिँदा मेरा आँखाहरु भने बाहिरका सुन्दर द्रिस्यतिर दौडिरहेका थिए । रेलगाडीको रफ्तारले पिछाडी छोडदै जाने ति रमणिय द्रिस्यलाई मैले मन्टो बटार्दै पछ्छ्याउने प्रयास गर्थें । बेलायतको ग्रिस्मकालिन मौसम कहिले त यो पृथ्वीमा अन्त कतै पाइन्न की जस्तै भान हुन्छ । उज्यालो घाम, न्यानो तापक्रम, हरिया सम्म खेतबारिका फाँट, रङिचङी बगैचा र उधान, सुनौलो बलौटे सामुन्द्रिक तट । तिनै फाँटमा चरिरहेका ऊनि भुत्लाले सजिएका भेंडा, ठुला ठुला दुधका फाँचा बोकेका गाई, गौँ, जौका लहलहाउँदा बाला । कतै क्रिसकले ट्याक्टरको प्रयोग गरेर काटी छोडेका गोलो गोलो ढोल जस्तै देखिने घाँसका मुठा । कतै अग्ला अग्ला रुखले सजिएका सालघारी जस्तै देखिने बन । कतै पुराना पुराना रोमन र भिक्टोरियन इतिहास दर्सिने गाउँघर । त्यसैले त होला याँहाका स्थानियबासिहरु ग्रामीण बातावरण र जनजीवनलाई बचाइराख्न चाहन्छन । त्यत्तिकै मात्रामा ग्रामीण अस्तित्वको कस्तो घमन्ड गर्दछन । अती आधुनिक जीवन यापन गर्दा गर्दै पनि ग्रामीण परम्परा उनिहरु भुल्न चाहदैनन । हामी बेल्पालिहरु पनि त भन्छौ- नेपालमा शहर बजार भन्दा त पहाड गाउँघरको जीवन कती राम्रो ! त्यसैले त होला मेरो शरीर बेलायत जस्तो अती आधुनिक शहर बजारमा रहेता पनि मन भने सधैं गाउँ घरमा नगएको कुनै पल हुँदैन ।
मेरो सबेरैको रेलगाडी सिमेन्टको जङल जस्तै देखिने लन्डन शहरभित्र छिर्यो। सितल सिरेठो महसुस गर्दै गरेको मेरो बदनले अब उकुस मुकुस तातो हावा को अनुभव गर्न थाल्यो । चेरिङ् क्रसमा उत्रेर भूमिगत रेलको छोटो सफर पछी सेन्ट पाङ्क्रस ओर्लिएँ । यात्रुहरुको भिडभाडा, स्थानिय भन्दा एसियन, अफ्रिकन, मध्य-पूर्वका मानिसहरु मात्रै देख्दा एकैछिन त मलाई बेलायतमा छु जस्तो लागेन । कोलाहल, हस्याङ-फस्याङ र बिज्ञापनका होर्डिङ बोर्डहरु, नियोन लाइट इत्यादी जताततै देख्दा बरु म त कतै हङकङमा त छैन जस्तै लाग्यो । मेरा लाहुरे जीवनका हङकङ बसाइको सम्झना खुबै दिलायो त्यस छणले ।
त्याहाँबाट फेरी अर्को रेल समातेर ब्रिस्टलतिर लागेँ । खैरा गगनचुम्बी भवन र अलकत्रे बाटालाई पछी धकेल्दै फेरी उही हरिया घाँसे मैदान र फाँटहरु, नहर जस्तै देखिने शान्त बगिरहेका खोलाहरु, कतै झुम्म परेका गाउँ र तिखा तिखा छाना सितका गिर्जा घरहरु देखिन थाले । म चढेको रेल कहिले सुरुङ भित्र, कहिले दाइने बाँया अग्ला ढिक र ढिकमा रोपिएका ब्रिछ्छ्य माझ हुँदै, कतै पुल माथि कतै पुल मुनी, कतै पोखरी र ठुला ठुला तालको नजिक हुँदै, सुइ… अं….. गतिमा अगाडि बढीरह्यो । सुरुङ भित्रबाट रेल मार्ग बनाइनुको कारण कि त जमिन माथि डाँडा-काँडा हुनुपर्छ, कि त सम्रछण गर्नै पर्ने प्राकृतिक अथवा पर्याबरणिय महत्वको स्थल हुनुपर्छ । रेलमार्गको दाइने बाँयाँ रुख रोपेर ढिक उठाइनुको कारण ग्रामीण जनजीवनलाई रेलको ध्वानी प्रदुसण नहोस भनेर हुनसक्छ ।
बिहानको ९ बजे ब्रिस्टल आइपुग्दा एउटा घुम्तिमा झ्यालबाट रेलको लिक र पिछाडिको डिब्बा देखियो । मलाई ‘नैनी ताल नैनी ताल…. घुमी आयो रेल… ‘ गीतको खुबै याद आयो । अनि त यो सन्छिप्त यात्रा संस्मरण फुर्यो ।