आमा म आफ्नै माटोको सुगन्ध लिन चाहन्छु (कबिता)

 निश्चल काउचा

आदिम बस्तिहरुमा

तन्त्रले पाईन हाल्न नसके पछि

आफ्नो भूगोलको परिधि नाघेर  

आफ्नै सपनाको मलामी जान

सगरमाथाको शिर पार गरेको ‘म’

रेगिस्तानको  मृगतृष्णामा छटपटाई रहदा  

मृत सागरको नुनिलो पानीले प्यास मेटाउन सक्दिन

यो कंक्रिट जंगलको गगन चुम्बी भवनको उचाई  

मेरो सगरमाथासँग तुलना गर्न मिल्दैन 

फिर्नु छ चाँडै

आफ्नै भुमिमा

सिञ्चिनु छ  

तातो रगत र पसिना

आफ्नै माटोको डल्लामा

त्यति बेला  

मलाई सलाम ठोक्न  

हरेक बिहान घामको झुल्को हाजिर हुनेछ

म कोरा गह्राहरुमा , कोरा फाटहरुमा  

हलो र कोदाली कलम लिएर  

अन्नको रचना गर्न  

दश नंग्रा खियाई रहनेछु

आज मात्र

मेरो देशलाई

मेरी आमालाई

संदेश पठाए  

आमा म आफ्नै माटोको सुगन्ध लिन चाहन्छु ।

चौराहा १ बाग्लुङ , हाल दक्षिण कोरिया