सिद्घार्थ हिम्डु
काठमाडौँ, २०७१ असार ३२ गते
संसदमा नेपाल सरकारको तर्फबाट प्रस्तुत गरिएको ०७१/०७२ को वार्षिक बजेटबारे छलफल भईरहेको कूरा राष्ट्रिय जनमुक्ति पार्टीका सभासद शिवलाल थापामगरले बताए । बैठकको प्रारम्भमा विशेष समय लिई सभासद थापाले– हामी विदेशमा कार्यरत नेपालीहरुबाट प्राप्त रेमिट्यान्स्बारे गौरव गर्छौँ । मुलुकको वार्षिक आयको २५ प्रतिशत भन्दाबढी रेमिट्यान्स् नेपाल भित्रिएकोमा खुसी व्यक्त गर्छौँ । तर उनीहरु कुन अवस्थामा छन् भन्नेबारे ध्यान दिँदैनौ ।
सभासद थापाले– गत केही दिनदेखि इराकी भूमी हिंसाग्रस्त क्षेत्रमा परिणत भैरहेको अवस्था छ । त्यसबाट कैयौँ विदेशी श्रमिकहरु प्रभावित भएका छन् । जसमा नेपालीहरु पनि प्रभावित भएका खबरहरु आइरहेका छन् । झण्डै महिना दिनदेखि नेपाली श्रमिकहरु हिंसाग्रस्त जोखिमपूर्ण अवस्थामा रहेका खबर छन् ।
आफनो नागरिकको सुरक्षा सुनिश्चित गर्ने दायित्तो सरकारको हो । त्यसरी इराकमा फसिरहेका नेपालीहरुलाई उद्घार गर्न सरकारको तर्फबाट तुरुन्तै पहल गर्नुपर्दछ । त्यसरी नै संकटग्रस्त सिरियामा पनि चार सय नेपाली महिलाहरु अलपत्र परेको पनि सुनिरहेका छन् । ती महिलाहरुको तुरुन्तै उद्घार गर्ने दायित्तो पनि सरकारको हो । त्यसप्रति सरकारले तुरुन्तै पहल गर्नपनि सभासद थापाको आग्रह थियो ।
